एमालेको घोषणपत्र: युवादेखि श्रमिकसम्मलाई लक्षित आकर्षक सुविधा घोषणा

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (नेकपा एमाले) ले सार्वजनिक गरेको नयाँ घोषणापत्रमा युवा, महिला, श्रमिक, शिक्षक तथा राष्ट्रसेवकलाई केन्द्रमा राख्दै विभिन्न आकर्षक कार्यक्रम अघि सारिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले आज सार्वजनिक गरेको घोषणापत्रमा सामाजिक सुरक्षा र आर्थिक सहायताका महत्वाकांक्षी योजना समेटिएका छन्।

घोषणापत्रअनुसार युवालाई हरेक महिना १० जीबी निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने, विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने तथा पारिश्रमिकसहितको इन्टर्नशिप कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ। युवा तथा उद्यमीलाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड सुविधा उपलब्ध गराउने र वैदेशिक रोजगारीमा रहेका श्रमिकको खातामा ५ हजार रुपैयाँसहित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने उल्लेख छ।

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने, सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने तथा १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ।

महिला लक्षित कार्यक्रममा किशोरीलाई निःशुल्क स्यानिटरी प्याड, महिलालाई २० लाख रुपैयाँसम्म सहुलियत ऋण, सुत्केरीलाई २० हजार भत्ता तथा गर्भवती महिलाको निःशुल्क बीमा व्यवस्था गर्ने योजना समेटिएको छ। स्वास्थ्य स्वयंसेविकालाई मासिक २० हजार भत्ता र सामाजिक सुरक्षा उपलब्ध गराउने प्रस्ताव पनि गरिएको छ।

त्यसैगरी, सबै शिक्षकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, शिक्षकको मर्यादाक्रम निर्धारण गर्ने तथा बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा–सुविधा वृद्धि गर्ने योजना अघि सारिएको छ। गरिब परिवारको २५ हजार रुपैयाँसम्म ऋण मिनाहा गर्ने प्रतिबद्धता समेत घोषणापत्रमा उल्लेख गरिएको छ।

एमालेले यी कार्यक्रममार्फत सामाजिक सुरक्षा सुदृढ गर्दै आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिने दाबी गरेको छ।