तिप्लिङ–रुबीभ्यालीको समृद्धिमा एमाले उम्मेदवार धनबहादुर घलेको प्रतिबद्धता

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०८२

धादिङ । धादिङ–२ का नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर घले ले उत्तरी धादिङको तिप्लिङ तथा रुबीभ्याली क्षेत्रको समग्र विकासमा आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

तिप्लिङमा आयोजित मतदाता भेटघाटका क्रममा उनले संविधानसभा सदस्य रहँदा यस क्षेत्रको विकास र समृद्धिका लागि सञ्चार, सडक तथा सामुदायिक पूर्वाधारमा महत्वपूर्ण पहल गरिएको स्मरण गरे। सोही अवधिमा टेलिकम टावर स्थापना गरी सञ्चार सुविधाको विस्तार, सडक निर्माण तथा सामुदायिक र एकीकृत विकासका योजना अघि बढाइएको उनको भनाइ छ।

तिप्लिङ पुगेका उम्मेदवार घलेलाई स्थानीयवासीले तामाङ संस्कृति अनुसार भव्य स्वागत गरेका थिए। भेटघाटका क्रममा उनले तिप्लिङ र रुबीभ्याली क्षेत्रलाई पर्यटन, जडीबुटी, चौँरी तथा भेडीखर्कसँग जोडेर आर्थिक आम्दानीको आधार बनाउने स्पष्ट नीति अघि सारे।

उनका अनुसार यी क्षेत्रका प्राकृतिक र सांस्कृतिक सम्भावनालाई कानूनी तथा नीतिगत सुधारमार्फत आम्दानीमूलक बनाइनेछ।

मतदाता भेटघाटका क्रममा तिप्लिङ ठूलोगाउँ, लब्दुङ लगायतका बस्तीहरूमा पुगेर स्थानीय समस्या, गुनासो र सुझाव संकलन गर्दै उनले रुबीभ्याली एकीकृत विकासमा आफू दृढतापूर्वक लाग्ने प्रतिवद्धता दोहोर्याएका छन्।