
धादिङ । आशन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ–२ बाट रामबहादुर भण्डारी ले आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छन्।
घोषणा–पत्रमार्फत भण्डारीले धादिङ जिल्लाको समग्र विकास, सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आफू उम्मेदवार बनेको स्पष्ट पारेका छन्। उनले आफू महान् जनयुद्धदेखि संविधान निर्माणसम्मका राजनीतिक संघर्षमा सक्रिय सहभागी भएको उल्लेख गर्दै, घाइते अवस्थामा पनि धादिङबासीको माया र सहयोगले जीवन पाएको स्मरण गरेका छन्।
उनले भनेका छन्, “मेरा प्रतिबद्धताहरू कागजमा सीमित घोषणा होइनन्, यी त जनतासँग गरिएको करारनामा हुन्। बोलीभन्दा काममा विश्वास गर्ने मेरो राजनीतिक यात्रा र जिम्मेवारी नै यसको प्रमाण हो।”
पर्यटन र पूर्वाधार विकास
भण्डारीले धादिङ–२ भित्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिने बताएका छन्। भैरवी मन्दिर, चमेरो गुफा, बागेश्वरी, नेत्रावती डबजोङ, सल्यानकोट त्रिपुरासुन्दरी माईस्थान, नरसिंहधाम, गंगाजमुना, सिङ्ला भ्याली, गिलिनचोक गुम्बा, तातोपानी, ल्याक्चेकुण्ड पोखरी, मोति गुफा लगायत क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
कटुञ्जे, ज्यामरुङ, मैदीकोट, जुरेथुम र भैरवी मन्दिर डाँडाबाट प्याराग्लाइडिङ पर्यटन प्रवर्द्धन गरिने तथा रुबीभ्याली–गणेश हिमाल–सिङ्लापास–पासाङ पास पदमार्गलाई व्यवस्थित गर्दै आन्तरिक तथा बाह्य पर्यटन विस्तार गरिने उल्लेख छ।
कृषि, रोजगारी र आत्मनिर्भरता
घोषणा–पत्रमा कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र प्रविधिमा आधारित बनाउने, उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, ब्राण्डिङ र बजार सुनिश्चित गर्ने नीति समावेश गरिएको छ।
धादिङबेसी र किन्ताङफेदीमा चिस्यान केन्द्र स्थापना, प्रत्येक पालिकामा कृषि उपज संकलन केन्द्र, एक वडा–एक कृषि तथा भेटेरिनरी स्वयंसेवक परिचालन र सामूहिक उत्पादन प्रणाली लागू गर्ने प्रतिवद्धता गरिएको छ। बुढीगण्डकी, आँखु र थोपल खोलाबाट लिफ्टिङ प्रविधिमार्फत सिंचाइ विस्तार गरिने पनि उल्लेख छ।
सामाजिक न्याय र समावेशीता
“महिलालाई पहिला” नीति अवलम्बन गर्दै महिला सशक्तिकरण, दलित समुदायका पेशा व्यवसायको आधुनिकीकरण, आदिवासी जनजाति (तामाङ, गुरुङ, मगर, नेवार, कुमाल) का भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गरिने उल्लेख छ। सल्यानटारमा कुमाल/दराई संग्रहालय निर्माण गर्न पहल गरिने तथा ज्येष्ठ नागरिकका लागि “एक वडा, एक आराम तथा मिलन केन्द्र” स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
युवा तथा खेलकुद
युवालाई सीप, प्रविधि र उद्यमशीलतामार्फत स्वदेशमै रोजगारीमा जोड्ने नीति अघि सारिएको छ। नीलकण्ठ–६, सुनौलाबजारमा राष्ट्रिय स्तरको क्रिकेट मैदान र सल्यानटारमा राष्ट्रिय रंगशाला निर्माण गर्न पहल गरिने घोषणामा उल्लेख छ।
घोषणा–पत्र सार्वजनिक गर्दै भण्डारीले “सुशासन सहितको समृद्ध धादिङ” निर्माण गर्ने लक्ष्यसहित आफू धादिङ–२ का मतदाताको घर–आँगनमा मत माग्न आएको बताएका छन्।
