एमाले उम्मेदवार धनबहादुर घले भोट माग्दै झार्लाङमा

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०८२

धादिङ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर घले खनियाबास गाउँपालिका वडा नम्बर १ र २ अन्तर्गत पर्ने झार्लाङ गाउँका विभिन्न बस्तीमा मतदाता भेटघाट तथा कोणसभामा सक्रिय देखिएका छन्।

स्थानीय कृषकहरूले उत्पादन गर्ने आलु, फर्सी, अन्नपातलगायतका कृषि उपज बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको भन्दै घलेले धादिङबेसी–तिप्लिङ हुँदै चीन जोड्ने सडक पिच गर्ने, बजारीकरणका लागि स्पष्ट कार्ययोजना बनाउने, भण्डारण केन्द्र र चिस्यान केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उत्तरी धादिङलाई बीउ उत्पादन क्षेत्रका रूपमा विकास गर्ने योजनासमेत सार्वजनिक गरेका छन्।

झार्लाङको पर्ची, घ्यालमान, ओंगुललगायत स्थानमा कोणसभा र मतदाता भेटघाट गर्दै घलेले २०७० सालमा निर्वाचित भएपछि आफूले विकासका लागि पहल गरेको दाबी गर्दै आगामी दिनमा पर्यटन प्रवर्द्धन र गणेशहिमाल क्षेत्रको एकीकृत विकास योजनामा विशेष ध्यान दिने बताएका छन्।

मतदाता भेटघाटका क्रममा उम्मेदवार घलेसँगै प्रदेश कमिटी सदस्य इमान तामाङ र जिल्ला कमिटी उपसचिव भक्त लामीछाने लगायत एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी छन्।