चुनावी मैदानमा कांग्रेस आक्रामक, धादिङ–२ मा ३०१ सदस्यीय प्रचार समिति गठन

Avatar photo
Dhadingpost
फाल्गुन १, २०८२

धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ ले प्रचार–प्रसार समितिलाई थप सशक्त बनाउँदै चुनावी गतिविधिलाई तीव्रता दिएको छ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. २, धादिङले जिल्ला कार्यसमितिका सहसचिव नवराज तिमल्सिनालाई प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिएसँगै समिति पूर्ण रूपमा क्रियाशील बनेको हो।

समितिले ३०१ सदस्यीय व्यापक संरचना गठन गर्दै संगठनात्मक रूपमा काम अघि बढाएको जनाएको छ। गठित समितिले पार्टी तथा उम्मेदवारका नीति, कार्यक्रम र सन्देशलाई प्रभावकारी ढंगले मतदातासम्म पुर्‍याउने उद्देश्य लिएको छ।

प्रचार–प्रसार समितिअन्तर्गत प्रचार सामग्री उत्पादन गर्ने, ती सामग्रीको प्रकाशन तथा प्रसारण गर्ने, सामाजिक सञ्जाल, अनलाइन माध्यम, छापा तथा प्रत्यक्ष सम्पर्कजस्ता विभिन्न माध्यम प्रयोग गरी मतदातासम्म सामग्री पुर्‍याउने कार्य भइरहेको छ।

साथै उम्मेदवार तथा पार्टीका औपचारिक कार्यक्रमलाई जनस्तरसम्म चिनाउने, जनसम्पर्क विस्तार गर्ने र जनमत निर्माणमा सहयोग पुर्‍याउने कार्यलाई प्राथमिकतामा राखिएको छ।

संयोजक तिमल्सिनाले प्रचार–प्रसारलाई योजनाबद्ध, तथ्यपरक, प्रविधिमैत्री र जनमैत्री बनाउँदै कांग्रेसको विचार र एजेन्डालाई घरघरमा पुर्‍याउने लक्ष्य रहेको बताए। समितिको सक्रियतासँगै नेपाली कांग्रेस धादिङ–२ को चुनावी तयारी थप सुदृढ बन्दै गएको देखिएको छ।