
धादिङ । संविधानसभा सदस्य तथा नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार धनबहादुर घलेले निर्वाचित भएपछि क्षेत्रभर “एक घर–एक धारा” कार्यक्रमलाई नीतिगत रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ त्रिपुरेश्वरस्थित खहरे क्षेत्रमा मतदाता भेटघाटका क्रममा स्थानीयले खानेपानीको समस्या औंल्याएपछि उम्मेदवार घलेले नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिने बताएका छन्।
मतदाताभेटघाटका क्रममा बेलघारी बाजा समूहले उम्मेदवार घलेको भव्य स्वागत गरेको थियो। सो अवसरमा स्थानीयवासीले सीप विकास कार्यक्रम सञ्चालन, महिला तथा आमा समूहको क्षमता अभिवृद्धि, सडक, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवहारिक सुधार गर्ने नीति ल्याउन माग गरेका थिए।
जवाफमा उम्मेदवार घलेले आफू नीति निर्माणको तहमा पुगे पनि नागरिकको जीवनस्तर उकास्ने विकास कार्यक्रमलाई प्राथमिकता दिने बताएका छन्। उनले २०७० सालमा संविधानसभा सदस्य रहँदा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
त्यस समयमा उत्तरी धादिङको विकासका लागि धादिङबेसी–टिप्लिङ सडक, डुन्डुरे पुल निर्माण र रुबी भ्यालीमा टेलिफोन टावर स्थापना लगायतका योजनामा भूमिका खेलेको उल्लेख गर्दै अहिले ती क्षेत्रहरूमा विकासको गति बढिरहेको र त्यसलाई अझ सुदृढ बनाइने बताएका छन्।
उम्मेदवार घले हाल त्रिपुरासुन्दरी गाउँपालिकाका सल्यानटार, खहरे, त्रिपुरेश्वर, लपाङ लगायतका स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै नागरिकका गुनासा र समस्या संकलन गरी समाधानका लागि पहल गर्ने बताउँदै चुनावी अभियान अघि बढाइरहेका छन्।
