
धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार रहेका नेकपा केन्द्रीय सदस्य रामबहादुर भण्डारीले नीलकण्ठ नगरपालिका–१४ खरबारीस्थित सहिद परिवारसँग भेटघाट गर्दै जनयुद्धका सहिद हस्तबहादुर गुरुङ (जीवन) को शालिकमा माल्यार्पण गरेका छन्।
कार्यक्रमका क्रममा भण्डारीले सहिद तथा बेपत्ता परिवारको योगदानलाई स्मरण गर्दै उनीहरूको सपना समुन्नत, समानतामूलक र न्यायपूर्ण समाज निर्माण भएको उल्लेख गरे। उनले धादिङ–२ मा आफ्नो उम्मेदवारी अन्याय र अत्याचारमा परेका विपन्न तथा उत्पीडित वर्गको प्रतिनिधित्व भएको भन्दै निर्वाचित भएपश्चात नीति निर्माणको तहमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक मनराज भण्डारीले वर्गीय शोषण, जातीय तथा लैङ्गिक विभेद, क्षेत्रीय असमानता, बेरोजगारी, श्रम पलायन, आयात–निर्भर अर्थतन्त्र, उत्पादनशील क्षेत्रको कमजोरी, भ्रष्टाचार र राजनीतिक अस्थिरताले देश बहुआयामिक संकटमा परेको उल्लेख गरे। ती समस्या समाधानका लागि तारा चिन्हका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनले जोड दिए।
