
धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले जनयुद्धका क्रममा आफूलाई गोली लागेको स्थान नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट मतदाता भेटघाट अभियानको शुभारम्भ गरेका छन्।
जिल्ला इञ्चार्ज पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले गोलाभञ्ज्याङका स्थानीयले दिएको जीवनदान आफूले कहिल्यै नबिर्सने बताए। “मलाई पुनर्जन्म दिने यही ठाउँ हो, यहीँका जनताले मेरो जीवन बचाउनुभयो,” भावुक हुँदै भण्डारीले भने।
कार्यक्रममा स्थानीयले पनि पालैपालो माइक समात्दै भण्डारीलाई उद्धार गरेको स्मरण सुनाए। “उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, सास फेर्न पनि गाह्रो भइरहेको थियो। गोली देब्रे छातीमा लागेको थियो। आश कम भए पनि हामीले प्रयास गर्यौँ र सफल भयौँ,” एक स्थानीयले भावुक हुँदै बताए। “हामीले बचाएको मान्छेलाई भोट नदिने कुरा आउँदैन,” उनीहरूको भनाइ थियो।
२०५५ जेठ १९ गते जनयुद्ध दमनका लागि सञ्चालन गरिएको ‘किलो शेरा–टु’ अपरेसनका क्रममा तत्कालीन सशस्त्र र जनपथ प्रहरीले भण्डारीको घरमा घेरा हाली पक्राउ गरी निर्ममतापूर्वक कुटपिट तथा यातना दिएको थियो। पार्टीको गोपनीयता नखोलेपछि साबिक ज्यामरुङ–८ गोलाभञ्ज्याङमा छाती, हात र निधारमा गोली हानी मृत ठानेर मकैबारीमा फालिएको थियो।
स्थानीयको सहयोग, विशेषगरी हाल बेपत्ता छोरा शुभासचन्द्र भण्डारी र भतिजी भगवती भण्डारीको सक्रियतामा तथा धादिङ र काठमाडौंका पर्यटन व्यवसायीहरूको सहयोगमा भण्डारीलाई जिल्ला अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएर उपचार गरिएको थियो।
तत्कालीन अवस्थामा माओवादीलाई सहयोग गर्नु जोखिमपूर्ण हुँदाहुँदै पनि ज्योति अधिकारी, गणेश सिम्खडा, हरि धरेल, विष्णु पुकार श्रेष्ठलगायतले घाइते भण्डारीलाई उपचारका लागि महत्वपूर्ण सहयोग गरेका थिए।
उपचारकै क्रममा भण्डारीलाई प्रहरीले पुनः गिरफ्तार गरी ३ वर्ष २ महिना ७ दिन जेल राखेपछि रिहा गरिएको थियो।
भण्डारीका अनुसार जनयुद्धका क्रममा उनका दुई जना भाइ छोरा बेपत्ता भएका छन्।
शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य दिपा सिंखडा, केन्द्रीय सदस्य तथा उम्मेदवार रामबहादुर भण्डारी, केन्द्रीय सदस्य जगत सिंखडा, केन्द्रीय सदस्य दलबहादुर बुर्लाकोटी(विजय) मनराज भण्डारीलगायतको उपस्थिति रहेको थियो।
