यो चुनाव पुराना र नयाँ बीचको लडाई

Avatar photo
Dhadingpost
माघ २२, २०८२

हामी अहिले साधारण चुनावको मोडमा छैनौं । हामी इतिहास लेख्ने मोडमा उभिएका छौँ । वर्षौँदेखि हाम्रो देशले क्षमतावान, ऊर्जाशील र जिम्मेवार युवालाई नेतृत्वमा पुर्‍याउने वास्तविक अवसर पाएको थिएन । तर आज त्यो अवसर हाम्रो हातमा आएको छ ।

यसलाई यसरी पनि भन्न सकिन्छ—यो चुनाव पुराना र नयाँ बीचको लडाई हो । पुरानाको नेतृत्वमा छन् केपी, प्रचण्ड र गगन जस्ता अनुभवी तर स्थायी सोचका नेताहरू, जबकि नयाँ नेतृत्वमा छन् रवि, बालेन, हर्क र कुलमाल जस्ता नयाँ सोच, नयाँ ऊर्जा र स्पष्ट भिजन भएका उम्मेदवारहरू ।

हामीले हिजो मिठा भाषण सुनेर भोट दिने प्रचलन राख्यौं, तर आज अवस्था फरक छ। हामी आमुल परिवर्तन चाहन्छौं । त्यसैले अब हाम्रो भोट काम गर्ने तरिका, सोच, क्षमता र योग्यताको आधारमा जानुपर्छ ।

अघिल्ला वर्षहरूमा हामीले सबैजसो पार्टीलाई मौका दिएका छौँ, विश्वास गरेका छौँ । कतिपय काम भयो तर गति कछुवा जस्तै । आजको विश्व कति छिटो अघि बढिरहेको छ, हामी सबैले देखिरहेका छौँ । कतिपय देशमा राति सुरु भएको निर्माण कार्य केही दिनमै पूरा हुन्छ । तर हाम्रो देशमा सानो नाला बनाउन पनि महिनाौं लाग्छ ।

समस्या कहाँ छ ?
नीति बनाउने ठाउँमा बसेका व्यक्तिहरू देशभन्दा पार्टीलाई ठूलो ठान्छन् ।
कामभन्दा गुट, विकासभन्दा सत्ता जोगाउने सोच हावी भयो । त्यसैले हामी प्रायः पछि परेको महसुस गर्छौँ ।

तर अब समय बदलिएको छ। ढिलाइ अब स्वीकार्य छैन । अब देशलाई चाहिएको छ सक्षम, इमानदार र काममुखी नेतृत्व ।

देशभर नयाँ कि पुरानो भन्ने बहस भइरहे पनि, म उत्तरी धादिङको रुवीभ्यालीको नागरिकको हैसियतले भन्न चाहन्छु—पुरानाबाट सम्भव नभएको काम अब नयाँ सोच र भिजन भएका उम्मेदवारले गर्न सक्छन् ।

यसै सन्दर्भमा, तसर्थ घण्टी चुनाव चिन्हमा मतदान गरी धादिङ १ मा आशिका तामाङ र धादिङ २ मा बोधनारायण श्रेष्ठलाई जिताऔं । धादिङलाई घण्टी मय बनाऔं ।

अब पुरानाहरुलाई सच्चिने मौका दिऔँ, र रवि, बालेन जस्ता नयाँ नेतृत्वलाई देशको नेतृत्व गर्न दिऔँ ।
यसपालि पार्टीभन्दा माथि उठौँ, देशको भविष्यलाई प्राथमिकता दिऔँ ।

नयाँ सोच, नयाँ ऊर्जा, नयाँ पुस्तालाई जिम्मेवारी दिऔँ। हामीले गणतन्त्र पाएका छौँ, अब गुणतन्त्र स्थापना गर्ने समय आएको छ ।

देशको निकास, विकासको गति र भोलिको पुस्ताको भविष्यका लागि—यसपालि हाम्रो मत परिवर्तनका पक्षमा ।जय घण्टी !

(यो लेख, लेखकको स्वतन्त्र विचार हो ।)