
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने एसईई प्रि–बोर्ड परीक्षा आजबाट धादिङ जिल्लामा पनि औपचारिक रूपमा सुरु भएको छ।
प्याब्सन धादिङ अन्तर्गतका सदस्य विद्यालयहरूले एसईई २०८२ को तयारी परीक्षाको रूपमा माघ २२ गतेबाट प्रि–बोर्ड परीक्षा सुरु गरेका हुन् । यस वर्ष प्याब्सन धादिङमा आबद्ध विभिन्न निजी तथा आवासीय विद्यालयहरूबाट ३६२ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन्।
जिल्लाभर सञ्चालन भइरहेको उक्त परीक्षाका लागि ५ वटा परीक्षा केन्द्र तोकिएको छ। जिल्ला परीक्षा संयोजक तथा एड्भान्स एकेडेमी धादिङबेँसीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार सबै केन्द्रहरूमा परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।
प्याब्सनले आफ्ना मातहतका विद्यालयहरूमा प्रत्येक वर्ष एसईईअघि प्रि–बोर्ड परीक्षा सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई वास्तविक एसईई परीक्षाको वातावरण अनुभव गर्न, कमजोरी पहिचान गर्न र तयारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले यस वर्षको एसईई परीक्षा आगामी चैत्र १९ गतेदेखि सुरु हुने गरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। प्रि–बोर्ड परीक्षालाई विद्यार्थीहरूको अन्तिम तयारीका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
