धादिङमा चुनावी सुरक्षा कडा, आचारसंहिता लागू

Avatar photo
Dhadingpost
माघ २२, २०८२

धादिङ । आगामी २०७९ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धादिङले कडा सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको छ।

जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकबाट विभिन्न निर्णय गर्दै निर्वाचन अवधिभर जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउने, आचारसंहिता कडाइका साथ लागू गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्णयअनुसार निर्वाचन अवधिभर सभा, जुलुस, प्रचारप्रसार, भेला तथा कार्यक्रम गर्दा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ। कुनै पनि पक्षले ध्वनि प्रदूषण हुनेगरी माइक, साउण्ड सिस्टम प्रयोग, हिंसात्मक गतिविधि, धम्की, त्रास देखाउने काम, हथियार वा विस्फोटक पदार्थ बोकेर हिँडडुल गर्ने कार्य गर्न नपाइने व्यवस्था गरिएको छ।

साथै, निर्वाचनलाई प्रभावित पार्ने खालका भ्रम फैलाउने, अफवाह सिर्जना गर्ने, सामाजिक सञ्जालमार्फत गलत सूचना प्रचार गर्ने गतिविधि भए तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ।

सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ भने मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीको सुरक्षालाई उच्च प्राथमिकता दिने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सर्वसाधारणलाई निर्वाचन आचारसंहिता पालना गर्नशान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

निर्वाचनलाई मर्यादित, स्वच्छ र निष्पक्ष बनाउन सबैको सहकार्य आवश्यक रहेको प्रशासनले स्पष्ट पारेको छ। फाईल तस्वीर