युवाले राजनीति किन बुझ्नुपर्छ ?

Avatar photo
Dhadingpost
माघ २१, २०८२

सन् २०११ मा भारतमा भ्रष्टाचार अन्त्य गर्ने ठूलो आन्दोलन भयो । यसको नेतृत्व अन्ना हजारेले गरेका थिए, जसमा भारतभरिका नागरिक समाजले साथ दियो । उनीहरूको मुख्य माग भनेको भ्रष्टाचार निर्मूल गर्न साझा र बलियो जनलोकपाल चाहिने थियो । त्यही आन्दोलनमा अरविन्द केजरिवाल एकाएक देखा परे । हरियाणामा जन्मिएका उनले भारतको सरकारी तन्त्रको अनुभव र ज्ञानसहित आन्दोलनमा सक्रियता देखाए ।

अन्ना हजारेको आन्दोलनमा सहयोग पुर्‍याएपछि, केजरिवालले आफ्नो नेतृत्वमा आम आदमी पार्टी गठन गरे र चुनावमा होमिए । सरकारी पृष्ठभूमि भएकाले उनले कर्मचारी तन्त्रमा हुने बेतिथिको उजागर गरे र जनताको भरोसा जिते । पहिलो निर्वाचनमा उनीहरूबीचको प्रतिस्पर्धामा भारतीय जनता पार्टीलाई २८ सिटमा चुनौती दिए । दोस्रो निर्वाचनमा त ७० सिटमध्ये ६७ सिट जितेर आम आदमी पार्टीले ठूलो सफलता हासिल गर्‍यो । यद्यपि पछि शासन सत्ता हात पारेपछि उनीहरूले कस्तो नीति बनाए वा आफ्नो दललाई कहाँसम्म पुर्‍याए भन्ने अलग विषय हो, तर उनको उदयले भारतीय राजनीतिक तापमानमा भूकम्प झैँ प्रभाव पारेको थियो ।

नेपालमा पनि त्यस्तै प्रक्रिया देख्न सकिन्छ । राजनीतिमा राम्रो दख्खल राख्ने बुद्धिमान नेताको रूपमा चिनिएका बाबुराम भट्टराईले युवालाई आकर्षित गर्दै नयाँ शक्तिको बहस सुरु गरे । माओवादी परित्याग गर्दै उनले आफ्नो पार्टी नयाँ शक्तिको नाममा पुनर्निर्माण गरे । यसले देखाउँछ कि राजनीतिक चेत भएका नेताहरूले युवालाई नेतृत्व र परिवर्तनको स्रोत बनाउन सक्छन् ।

अरविन्द केजरिवालको उदाहरण नेपालसम्म प्रभाव पार्यो । त्यतिबेला युवा नेता भनिएका गगन थापा, योगेश भट्टराई र विश्वप्रकाश शर्मा पनि कम उमेरका थिए । उनीहरूको राजनीतिक यात्रा सुझबुझपूर्वक र रणनीतिक थियो । यसै कारण युवाहरूमा राजनीतिक चेत जागृत भयो ।

आज नेपालमा बालेन शाह जस्ता युवा नेताहरूले ठुलो आकर्षण पाएका छन् । सबैले उनलाई प्रधानमन्त्री भएर देश चलाउँछन् भनी हेर्न आतुर छन् । तर उनको राजनीतिक उपस्थितिलाई कसरी अगाडि लैजाने, कुन हदसम्म नैतिकता, परिपक्वता र कौशलता देखाउने-यो सबै हाम्रै नजरमा छ । विगतमा गगन थापाको योगदान पनि उत्तिकै प्रेरणादायी थियो । तर आज किन बालेन शाह उभिए र गगन थापा पछि परे भन्ने प्रश्नमा गम्भीर ध्यान दिन आवश्यक छ ।

हामीले खोज्नुपर्ने कुरा के हो भने-समाजको आवश्यकता के छ र मुलुकले के चाहन्छ । यसमा विशेष गरेर युवाहरूको भूमिका अग्रस्थानमा रहन्छ । अर्थात, युवाले जिम्मेवारी बुझ्नुपर्छ, सक्रिय हुनुपर्छ, चासो राख्नुपर्छ र राजनीति बुझ्नुपर्छ ।

कुनै पनि राष्ट्रको भविष्य त्यस देशका युवाहरूको सोच, निर्णय र सहभागितामा निर्भर हुन्छ । युवा शक्ति ऊर्जाशील, जिज्ञासु र परिवर्तनमुखी हुन्छ । तर जब यही शक्ति राजनीतिक रूपमा असचेत हुन्छ, तब राष्ट्रको शासन व्यवस्था सीमित व्यक्तिहरूको हातमा केन्द्रित हुन्छ । यस्ता स्वार्थी समूहहरूले आफ्नो हितका लागि नीतिहरू र स्रोतहरूको दोहन गर्छन्, जसले मुलुकलाई दीर्घकालीन संकटमा पुर्‍याउँछ । त्यसैले युवाहरूको राजनीतिक सचेतना मात्र राष्ट्र निर्माणको आधार हो ।

राजनीति भन्नाले केवल चुनाव, दल वा नेताको चर्चा मात्र होइन । राजनीति भनेको नीति निर्माण, शक्ति प्रयोग, स्रोतको वितरण र जनताको भविष्यसँग जोडिएको प्रक्रिया हो । आज गाउँ र शहरका सरकारी विद्यालयहरू बन्द छन्, चरम बेरोजगारी छ, स्वास्थ्य, पूर्वाधार, वातावरण र न्यायमा भ्रष्टाचार जरा गाडेको छ । यी सबै राजनीतिक निर्णयको प्रत्यक्ष वा अप्रत्यक्ष परिणाम हुन् । लाखौँ युवाहरू वैदेशिक रोजगारीमा बाध्य छन्, जुन केवल व्यक्तिगत समस्या नभई राजनीतिक समस्या हो ।

नेपालमा कुल जनसंख्याको करिब ४० प्रतिशत हिस्सा १६–४० वर्ष उमेर समूहका युवाहरूले ओगटेका छन् । तर राज्यको नीति निर्माण तहमा युवाको प्रतिनिधित्व न्यून छ । संसद्, मन्त्री परिषद् र उच्च प्रशासनिक तहमा युवाको संख्या नगण्य हुनुको मुख्य कारण युवाहरूको राजनीतिक उदासीनता र सचेत सहभागिताको अभाव हो । जब युवाहरू राजनीति बाट टाढा बस्छन्, तब पुराना सोच, पुराना संस्कार र पुराना नेतृत्वले शासन गर्छ ।

इतिहासले देखाउँछ कि राजनीतिक रूपमा सचेत युवाले नै परिवर्तनको नेतृत्व गरेका छन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन-यी सबैमा युवाहरू अग्रपंक्तिमा थिए । हालसालै, स्थानीय तहमा स्वतन्त्र उम्मेदवारप्रति युवाको समर्थनले परम्परागत राजनीतिमा चुनौती दिएको छ । यसले प्रमाणित गर्छ कि जब युवा सचेत हुन्छन्, तब नयाँ विकल्प जन्मन्छ ।

राजनीतिक सचेतनाले युवालाई केवल विरोध गर्न होइन, सही प्रश्न सोध्न सिकाउँछ । बजेट कहाँ खर्च भयो ? नीति कसका लागि बन्यो ? निर्णय कसरी भयो ? यस्ता प्रश्न बिना लोकतन्त्र खोक्रो हुन्छ । सामाजिक सञ्जालमा सक्रिय युवा यदि तथ्य, संविधान, नीति र अधिकारबारे जानकार छन् भने, उनीहरू गलत सूचना र राजनीतिक दुरुपयोगबाट सुरक्षित रहन्छन् ।

अझ महत्वपूर्ण कुरा, राजनीतिक सचेतनाले युवामा उत्तरदायित्वको भावना विकास गर्छ । मतदान गर्नु मात्र राजनीतिक सहभागिता होइन; नीति बहसमा सहभागी हुनु, स्थानीय सरकारलाई प्रश्न गर्नु, पारदर्शिता माग्नु र आवश्यक परे नेतृत्वमा आउनु पनि राजनीतिक जिम्मेवारी हो । विकसित मुलुकमा युवाको उच्च राजनीतिक सहभागिताले सुशासन र संस्थागत मजबूती सुनिश्चित गरेको देखिन्छ ।

अन्ततः “राजनीति फोहोरी छ” भन्ने सोच स्वयं खतरनाक हो । राजनीति फोहोरी होइन, फोहोरी बन्न दिनु गलत हो । यदि इमानदार, सक्षम र शिक्षित युवा राजनीतिबाट टाढा बस्छन् भने, राजनीति स्वार्थी र अयोग्य व्यक्तिहरूको हातमा जानु स्वाभाविक हुन्छ । त्यसैले युवाले राजनीति सुधार्नुपर्छ, भाग्नु होइन, सचेत भएर भित्र पसेर परिवर्तन ल्याउनुपर्छ ।

निष्कर्षमा भन्नुपर्दा, युवाको राजनीतिक सचेतना नै समृद्ध, न्यायपूर्ण र उत्तरदायी नेपालको आधार हो । आजको सचेत युवा भोलिको सक्षम नेतृत्व हो । राजनीति बुझ्नु, प्रश्न सोध्नु र जिम्मेवारी लिनु-यही बाटोबाट मात्र राष्ट्रको भविष्य सुरक्षित हुन्छ ।