
धादिङ । प्रेस सेन्टर नेपाल धादिङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङ क्षेत्र नम्बर २ मा सीपीएन मिडिया सेन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निर्देशनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा सीपीएन मिडिया सेन्टर सञ्चालन गर्ने अभियान अन्तर्गत धादिङ २ मा पनि उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो ।
सीपीएन मिडिया सेन्टरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवम् धादिङ क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार रामबहादुर भण्डारीले श्रमजीवी पत्रकारहरू वर्गीय चरित्रले भरिएको प्रगतिशील पत्रकार भएको उल्लेख गर्दै प्रेस सेन्टरलाई त्यसको प्रतिनिधि संस्थाका रूपमा चित्रण गरे । उनले प्रेस सेन्टरले उत्तर–आधुनिकतावादको विरुद्ध र माक्र्सवादको पक्षमा जनतालाई सचेत गराउने भूमिका खेल्दै आएको बताए ।
भण्डारीले धादिङ २ को निर्वाचनमा नेकपाका उम्मेदवारलाई जिताउन जनताका सुझाव र आवाज उम्मेदवारसम्म पुर्याउने माध्यमका रूपमा सीपीएन मिडिया सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम जिल्ला अध्यक्ष नीर तामाङको अध्यक्षतामा तथा गजेन्द्र तामाङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला संयोजक मनराज भण्डारी, समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य इन्दिरा ढुङ्गाना, साथै प्रेस सेन्टरसँग आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सीपीएन मिडिया सेन्टरमार्फत निर्वाचनसँग सम्बन्धित गतिविधि, उम्मेदवारका एजेन्डा तथा जनताको आवाजलाई व्यवस्थित रूपमा संकलन गरी सार्वजनिक गरिने प्रेस सेन्टर धादिङले जनाएको छ ।
