
धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नं. २ मा उम्मेदवारहरू घरदैलो अभियानमा जुटेसँगै चुनावी चर्चा र अंकगणित तीव्र बन्दै गएको छ । चीनसँग सिमाना जोडिएको रुबीभ्यालीदेखि सदरमुकाम धादिङबेँसी हुँदै बुढीगण्डकी र त्रिशूलीको सीमासम्म फैलिएको यो क्षेत्र राजनीतिक रूपमा सधैं प्रतिस्पर्धात्मक मानिन्छ ।
यस क्षेत्रभित्र नीलकण्ठ नगरपालिका सहित रुबीभ्याली, गंगाजमुना, खनियाबास, नेत्रावती, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिका पर्दछन् । भौगोलिक, जातीय र राजनीतिक रूपमा विविधता भएको यो क्षेत्रमा यसपटक पनि कडा टक्कर हुने आँकलन गरिएको छ ।
मुख्य उम्मेदवार को–को ?
धादिङ–२ मा यसपटक ४ प्रमुख राजनीतिक शक्तिबीच प्रतिस्पर्धा केन्द्रित देखिन्छ ।
नेपाली कांग्रेसबाट पूर्व जिल्ला सभापति रमेश धमला, नेकपा एमालेबाट पूर्व संविधानसभा सदस्य धनबहादुर घले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट केन्द्रीय सदस्य रामबहादुर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट केन्द्रीय संगठन विभाग उपप्रमुख बोदनारायण श्रेष्ठ उम्मेदवार बनेका छन् । यसबाहेक ११ वटा दल र ८ जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् ।
कांग्रेस उम्मेदवार धमला पूर्व पार्टी अध्यक्ष भइसकेका अनुभवी नेता हुन् भने पार्टीको संगठनात्मक संरचना पनि यो क्षेत्रमा बलियो मानिन्छ ।
नेकपाका उम्मेदवार भण्डारी जनयुद्धकालीन जनसरकार प्रमुख हुँदै केन्द्रीय नेतृत्वमा पुगेका नेता हुन् । उनका दुई छोरा जनयुद्धमा बेपत्ता भएका छन् भने उनी स्वयं घाइते छन्, जसले उनको उम्मेदवारीलाई भावनात्मक र राजनीतिक दुवै अर्थमा विशेष बनाएको छ ।
एमालेका उम्मेदवार घले २०७० सालमा धादिङ–१ बाट निर्वाचित संविधानसभा सदस्य हुन् । स्थानीय व्यवसायीका रूपमा उनको आफ्नै प्रभाव छ ।
रास्वपाका उम्मेदवार श्रेष्ठ सामाजिक अभियन्ताबाट राजनीतिमा उदाएका नेता हुन्, जो पार्टीको केन्द्रीय संगठन विभाग उपप्रमुखसमेत छन् ।
विगतको चुनावी अंकगणित
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका खेम लोहनी ३६,२०० मतसहित विजयी भएका थिए भने कांग्रेसका रामनाथ अधिकारी ३५,६०० मतमा पराजित भएका थिए । त्यतिबेला माओवादी र राप्रपाले एमाले उम्मेदवारलाई समर्थन गरेका थिए ।
२०७९ मा भने कांग्रेस–माओवादी गठबन्धनको प्रभाव देखियो । कांग्रेसका रामनाथ अधिकारी ३४,७३६ मतसहित निर्वाचित हुँदा एमालेका खेम लोहनी २४,१९० मतमा सीमित भए । रास्वपाकी उम्मेदवार बसुमाया तामाङले ५,५६९ मत ल्याएर नयाँ शक्तिको उपस्थितिसमेत देखाएकी थिइन् ।
प्रदेशसभातर्फ हेर्दा धादिङ–२ (ख) मा राप्रपा र माओवादी दुवैले १४,३८३ मत ल्याएका थिए । कांग्रेस–माओवादी गठबन्धनका कारण माओवादी उम्मेदवार पराजित भएका थिए । धादिङ–२ (क) मा कांग्रेस उम्मेदवार १९,४७४ मतसहित विजयी हुँदा एमाले १६,४५८ मतमा रोकिएको थियो ।
समानुपातिक मतले देखाएको वास्तविक शक्ति
२०७९ सालको समानुपातिक मत परिणामअनुसार धादिङ–२ मा
कांग्रेस – २०,९५७
एमाले – १६,२७५
माओवादी – ११,४९४
राप्रपा – ७,६३०
रास्वपा – ५,६२८
एकीकृत समाजवादी – २,९३४ मत प्राप्त गरेका थिए ।
कुल सदर मत करिब ६० हजार थियो भने कुल खसेको मत ६६,७५४ थियो । बाँकी मत साना दल र स्वतन्त्र उम्मेदवारमा गएको देखिन्छ ।
२०७९ मा धादिङ–२ मा १ लाख ३४ हजार मतदाता रहेकामा ४९.५५ प्रतिशतले मात्रै समानुपातिक मत प्रयोग गरेका थिए । अहिले हुन लागेको निर्वाचनका लागि यस क्षेत्रमा ३,८६८ मतदाता थपिएका छन्, जुन २.८७ प्रतिशत वृद्धि हो ।
कसको सम्भावना बलियो ?
विगतको मतपरिणाम, दलहरूको सांगठनिक अवस्था र नयाँ मतदाताको प्रवेशलाई हेर्दा धादिङ–२ मा यसपटक कांग्रेस, नेकपा, एमाले र रास्वपाबीच नै निर्णायक प्रतिस्पर्धा हुने देखिन्छ । विशेषगरी गठबन्धन नहुने अवस्था र रास्वपाको उदयले पुराना शक्ति सन्तुलन फेरिन सक्ने विश्लेषण स्थानीय स्तरमा भइरहेको छ ।
