
धादिङ । बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले शहीद दिवसको अवसरमा धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–२, माङटारस्थित भूमिस्थान आधारभूत विद्यालयका ७२ जना विद्यार्थीलाई विद्यालय पोसाक, न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।
फाउण्डेशनका केन्द्रीय अध्यक्ष तथा धादिङका समाजसेवी चिकित्सक डा. राम थापा क्षेत्रीको पहलमा आयोजना गरिएको उक्त कार्यक्रम विपन्न, असहाय तथा सीमान्तीकृत समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएको हो। विशेषगरी बेनीघाट रोराङ क्षेत्रका चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको अध्यक्ष डा. क्षेत्रीले जानकारी दिनुभयो।
कार्यक्रममा बालबालिकाको शिक्षा र स्वास्थ्य स्तर उकास्ने उद्देश्यसहित शैक्षिक सामग्रीसँगै न्यानो कपडासमेत वितरण गरिएको थियो। साथै, विद्यार्थीहरूलाई आकस्मिक स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतनामूलक तालिम पनि दिइएको थियो।
कार्यक्रमकै क्रममा एक छात्रालाई कुकुरले टोकेको घटना सार्वजनिक भएपछि फाउण्डेशनको पहलमा उनलाई तत्काल ताल्ती पुर्याई रेबिजविरुद्धको खोप लगाउने व्यवस्था समेत मिलाइएको थियो।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशनले यसअघि पनि बेनीघाट रोराङ गाउँपालिकाका कान्द्राङगढी, सिमथली, छेवाङ लगायतका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
