
धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ का तारा चिन्हधारी उम्मेदवार रामबहादुर भण्डारीले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम भएको बताएका छन्।
प्रेस सेन्टर नेपाल धादिङ–२ को बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले पटक–पटक चुनाव लड्ने सोच नभएको स्पष्ट पारे। “यो मेरो पहिलो र अन्तिम उम्मेदवारी हो,” उनले भने।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा धादिङ–२ निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडाले पार्टीको चुनाव चिन्ह नयाँ भएकाले मतदाता झुक्किन सक्ने बताउँदै सञ्चारकर्मीहरूलाई नेकपाको समाचार लेख्दा तारा चिन्ह उल्लेख गर्न आग्रह गरे।
जनयुद्धका क्रममा दुई छोरा बेपत्ता भएका भण्डारी स्वयं पनि जनयुद्धका घाइते हुन्। उनको उम्मेदवारीसँगै धादिङ–२ मा नेकपाको चुनावी माहौल तातेको छ।
बैठकले माघ २१ गते CPN Media Center संचालनमा ल्याउने, नेकपाका चुनावी गतिविधि समेटेर दैनिक इ–बुलेटिन प्रकाशन गर्ने तथा जिल्ला, प्रदेश र राष्ट्रियस्तरका मिडियासँग समन्वय गरी समाचार आदान–प्रदान गर्ने निर्णयसमेत गरेको छ।
