
धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ मा यतिबेला आगामी निर्वाचनको नतिजाबारे विभिन्न अड्कल सुरु भएका छन्। वामपन्थीहरूको परम्परागत पकड रहेको यस क्षेत्रमा यसपटक प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ।
नेकपाका वरिष्ठ नेता राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका केन्द्रीय सदस्य भूमी त्रिपाठी जस्ता हेभीवेट उम्मेदवारबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सामाजिक अभियन्ता आशिका तामाङ मैदानमा उत्रिएपछि राजनीतिक तरंग पैदा भएको छ।
यद्यपि नेकपा र एमाले नेतृत्वले रास्वपालाई मुख्य प्रतिस्पर्धीका रूपमा नहेरे पनि स्थानीय तहका कार्यकर्ताहरूले आशिका कमजोर उम्मेदवार नभएको रिपोर्टिङ गरिरहेको बताइन्छ।
नेकपाका केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले वडागत तथ्यांक र संगठनको आधारमा पाण्डे फराकिलो मतान्तरले जित्ने दाबी गरेका छन्। “हामी संगठनमा आधारित पार्टी हौं, सूक्ष्म अध्ययन गरेरै चुनावमा गएका छौं, जित सुनिश्चित छ,” उनले भने।
गजुरी गाउँपालिका, छेपाङ निवासी राजेन्द्रप्रसाद पाण्डे आठौं पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका अनुभवी नेता हुन्।
यता एमाले धादिङका कार्यवाहक अध्यक्ष अर्जुन गोर्खालीले सामाजिक सञ्जालको भरमा मात्र रास्वपा बलियो हुन नसक्ने बताउँदै एमाले उम्मेदवार भूमी त्रिपाठीको जित सुनिश्चित रहेको दाबी गरे। “अघिल्लो चुनावमा आन्तरिक कारणले हारियो, अहिले एमाले एकताबद्ध छ,” उनले भने।
बेनिघाट रोराङ–रिचोकटार निवासी भूमी त्रिपाठी १२ वर्ष जिल्ला अध्यक्ष रहिसकेका, अधिवक्ता तथा एमालेका केन्द्रीय सदस्य एवं धादिङ इन्चार्ज हुन्।
रास्वपा धादिङ–१ का नेता श्रवण त्रिपाठी भने भ्रष्टाचार, अनियमितता र महँगीबाट जनता आजित भएकाले मत परिवर्तन निश्चित रहेको दाबी गर्छन्। “आशिका तामाङ सामाजिक अभियन्ताका रूपमा जनतामाझ विश्वासिलो अनुहार हुन्। उनी लोभ–लालच होइन, समाधानको राजनीति गर्छिन्,” उनले भने।
गजुरी–१ मलेखु निवासी आशिकाको सामाजिक छवि र रास्वपाप्रति देखिएको जनलहरले धादिङ–१ को समीकरण बदल्न सक्ने विश्लेषण हुन थालेको छ।
यसैबीच कांग्रेसले पनि युवा उम्मेदवार कृष्ण रिजाललाई मैदानमा उतारेको छ। थाँक्रे गाउँपालिका–डी का स्थायी बासिन्दा रिजाल ३४ वर्षदेखि कम्युनिस्टको पकड रहेको क्षेत्र भत्काउने प्रयासमा छन्।
यस क्षेत्रबाट १३ दल र १० स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी मैदानमा छन्। २०७९ को निर्वाचनमा गठबन्धनतर्फबाट एकीकृत समाजवादीका पाण्डेले ३६,०१८ मत ल्याएर ८,०९१ मतान्तरले एमालेका त्रिपाठीलाई पराजित गरेका थिए। त्रिपाठीले २७,९२७ मत प्राप्त गरेका थिए।
त्यस निर्वाचनमा रास्वपाका हिमेश पन्तले १२,४९४ मत पाएका थिए भने अन्य उम्मेदवारले जम्मा १,३९५ मत ल्याएका थिए।
समानुपातिकतर्फ एमालेले २४,८१३ मत ल्याएर पहिलो, कांग्रेसले १६,५६७, माओवादीले १५,७९४, रास्वपाले १०,१२७ र एकीकृत समाजवादीले ६,०३५ मत प्राप्त गरेका थिए।
यसपटकको प्रतिस्पर्धाले धादिङ–१ को राजनीतिक भविष्य कुन दिशामा मोडिन्छ भन्ने हेर्न बाँकी छ।
