तावल पुगेर बोदनारायण श्रेष्ठले भने – “मतदानमा विवेक पुर्‍याउनुहोस्”

Avatar photo
Dhadingpost
माघ १६, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का घण्टी बहाक रास्वपा उम्मेदवार बोदनारायण श्रेष्ठले गंगाजमुना गाउँपालिकाको तावल पुगेर मतदातालाई विवेकपूर्ण मतदान गर्न आग्रह गरेका छन्।

चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरू घर–घरमा पुगिरहेका बेला यसपटक जनताले हल्ला र दबाबमा नभई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने उनले बताएका हुन्।

“तपाईंहरूले धेरै आश्वासन सुन्नु भएको छ, सुशासनका कुरा पनि धेरै सुनिसक्नु भएको छ। अब कुरा होइन, काम गर्ने उम्मेदवार चिनेर भोट दिनुस्,” श्रेष्ठले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका श्रेष्ठ अहिले कार्यकर्ता भेटघाट तथा चुनावी दौडाहामा व्यस्त छन्। सो क्रममा उनले तावल, ताजिम्राङ, चिमचोक र गुम्दी होम–स्टेमा जम्मा भएका कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गरेका छन्।

श्रेष्ठले भोलि माघ १७ गते सातदोबाटो, वडा कार्यालय परिसर, फुलखर्क पार्टी सम्पर्क कार्यालय उद्घाटन, डाँडा गाउँमा कार्यकर्ता भेटघाट तथा बैठक कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन्।