दशौं धादिङ महोत्सव भव्य समारोहका बीच उद्घाटन

Avatar photo
Dhadingpost
माघ १५, २०८२

धादिङ । धादिङबेसीमा आयोजना गरिएको दशौं धादिङ महोत्सव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भव्य समारोहका बीच उद्घाटन गरेका छन् ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। फागुन २१ गते हुने निर्वाचनका कारण लागू आचारसंहिताअनुसार कार्यक्रममा राजनीतिक दल तथा नेताहरूलाई आमन्त्रण गरिएको थिएन।

प्रमुख अतिथि ढकालले महोत्सव उद्घाटन गर्दै धादिङ जिल्लाको उत्पादन, पर्यटन र स्थानीय उद्यमशीलतालाई प्रवर्द्धन गर्ने यस्ता महोत्सवहरूले अर्थतन्त्र चलायमान बनाउने बताएका थिए । स्थानीय उत्पादनको बजार विस्तार र जिल्लाको पहिचान स्थापित गर्न महोत्सवको ठूलो भूमिका रहने उनको भनाइ थियो।

उद्घाटनअघि धादिङबेसी पुछारबजारबाट सुरु भएको विभिन्न जातजाति तथा भाषाभाषीको सांस्कृतिक पहिचान झल्किने झाँकी, भजन, महिला बाजा सहितको र्याली महोत्सव स्थल खुल्लामञ्चसम्म पुगेको थियो। झाँकी तथा महिला बाजा प्रतियोगिताका रूपमा पनि आयोजना गरिएको थियो।

महोत्सव अवधिभर आयोजक धादिङ उद्योग वाणिज्य संघले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई निरन्तरता दिन दबाबस्वरूप हस्ताक्षर अभियानसमेत सञ्चालन गरेको छ।

आज उद्घाटनको दिन प्रवेश निःशुल्क गरिएको थियो भने भोलिदेखि टिकट लाग्ने आयोजकले जनाएको छ।

महोत्सवका प्रमुख आकर्षणहरू

  • भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन गतिविधि
  • स्थानीय तहका विशेष उत्पादनका स्टलहरू
  • जिल्ला पशु सेवा, कृषि विकास तथा वन कार्यालयबाट सेवा र परामर्श
  • स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनी
  • रमाइलो मेला तथा बाल उद्यान
  • राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक प्रस्तुति

दशौं धादिङ महोत्सवले जिल्लाको पहिचान, उत्पादन र संस्कृतिलाई राष्ट्रियस्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।