
धादिङ । रुकुम पूर्वबाट उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रतिस्पर्धा गरिरहेका जनयुद्धका शहीद पुत्र सन्दीप पुनलाई नेकपा (एमाले) ले समर्थन गर्ने सहमति भएको छ ।
नेकपा एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहकार्यको सहमति भएसँगै उक्त क्षेत्रमा प्रचण्डविरुद्ध प्रतिस्पर्धामा उत्रिएका पुनलाई एमालेले सहयोग गर्ने निर्णय गरिएको हो । यस सहमतिले रुकुम पूर्वको चुनावी समीकरणलाई रोचक बनाएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
विद्यार्थी आन्दोलनबाट उदाएका पुन राजनीतिक रूपमा सक्रिय युवा नेता हुन्। उनले तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा जम्मा ३४ हजार ७ सय ७२ मतदाता रहेका छन् ।
गत निर्वाचनको मतपरिणाम
गएको प्रतिनिधिसभा निर्वाचनमा यहाँ तत्कालीन नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगर ले १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कैलाशकुमार मल्ल ले ५ हजार २२१ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन रहेको थियो, जसले परिणाममा प्रभाव पारेको बताइन्छ ।
समानुपातिकतर्फ पनि उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्र पहिलो दल बनेको थियो । पछिल्लो निर्वाचनमा माओवादी केन्द्र र नेकपा एसले ८ हजार ६४६, कांग्रेसले ५ हजार ६९२, एमालेले ३ हजार ६५९, रास्वपाले ४६६ र राप्रपाले ४२८ मत प्राप्त गरेका थिए ।
२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ माओवादी केन्द्रले ८ हजार ८९१, कांग्रेसले ३ हजार ६६८, एमालेले ३ हजार र बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिले ३४३ मत पाएको थियो ।
यसपटक एमालेको औपचारिक समर्थन सन्दीप पुनलाई प्राप्त भएसँगै रुकुम पूर्वमा प्रचण्डविरुद्धको प्रतिस्पर्धा थप कडा र चासोपूर्ण बन्ने अनुमान गरिएको छ ।
