
धादिङ । जिल्लामा आसन्न निर्वाचनलाई मर्यादित, शान्त र सभ्य बनाउने उद्देश्यले धादिङका राजनीतिक दल तथा उम्मेदवारहरूबीच ऐक्यबद्धता व्यक्त गरिएको छ । नेपाली कांग्रेस धादिङको आयोजनामा सम्पन्न छलफल कार्यक्रममा सहभागीहरूले निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको माध्यम बनाउने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा सहभागी दल तथा उम्मेदवारहरूले प्रचार–प्रसारका क्रममा एकअर्कामाथि आक्षेप नलगाउने, मानमर्दन हुने खालका अभिव्यक्ति नदिने, चुनावी सभा तथा भेटघाटका समय जुध्न नदिने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले गरेका थिए । छलफलमा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा उम्मेदवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बैठकमा राजनीतिक दहरूबाट नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला प्रमुख तथा अध्यक्ष र प्रतिनिधि सभा सदस्य उम्मेदवारहरू क्षेत्र न. १, तर्फ कृष्ण रिजाल- (नेपाली काग्रेस), भुमी त्रिपाठी-नेकपा (एमाले), राजेन्द्र प्रसाद पाण्डे-नेपाली कम्युनिष्ट पार्टी (नेकपा), गिताप्रसाद आचार्य-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र क्षेत्र न. २, तर्फका रमेश धमला -(नेपाली काग्रेस), रामबहादुर भण्डारी -नेपाली कम्युनिष्ट पार्टी (नेकपा), बोधनारायण श्रेष्ठ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सुरेश रिजाल-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले आपसी सम्मान, लोकतान्त्रिक मूल्य र मतदाताको अधिकारको रक्षा गर्दै निर्वाचनलाई उदाहरणीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
