नेपाली कांग्रेस धादिङ–२ को क्षेत्रीय भेला सम्पन्न, ५५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

Avatar photo
Dhadingpost
माघ १२, २०८२

धादिङ । नेपाली कांग्रेस धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ को क्षेत्रीय स्तरको भेला सम्पन्न भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै सम्पन्न भेलाले क्षेत्रीय सभापति राकेश धमलाको संयोजकत्वमा ५५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

जिल्ला सहसचिव नवराज तिमल्सिनाका अनुसार भेलाले निर्वाचनलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरेको छ । जसअन्तर्गत निर्वाचन प्रचार–प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, युवा परिचालन समिति, मतदाता शिक्षा कार्यक्रम सञ्चालन समिति, निर्वाचन आचारसंहिता अनुगमन समिति तथा जेन्जी पुस्ता समन्वय समिति गठन गरिएको छ ।

धादिङस्थित जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा सम्पन्न उक्त भेलामा नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका उच्च नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो । क्षेत्रीय सभापति राकेश धमलाको अध्यक्षतामा भएको भेलामा धादिङ क्षेत्र नम्बर २ अन्तर्गतका ६१ वटै वडाबाट कार्यकर्ताहरूको सहभागिता रहेको जनाइएको छ ।

भेलामा आगामी निर्वाचनमा पार्टी उम्मेदवार रमेश धमलालाई विजयी गराउन संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने निर्णयसमेत गरिएको छ । सहभागीहरूले घरदैलो, मतदाता भेटघाट तथा प्रचार–प्रसार अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ मा आफ्नो संगठनात्मक शक्ति परिचालन गर्दै निर्वाचन जित्ने लक्ष्यसहित अभियान अघि बढाएको पार्टीले जनाएको छ ।