
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनयुद्धका घाइते नेता रामबहादुर भण्डारीलाई धादिङ क्षेत्र नम्बर २ को उम्मेदवार बनाएर पार्टीले न्याय गरेको बताएका छन् । अब सबै कार्यकर्ता एकताबद्ध भएर भण्डारीलाई जिताउन लाग्नुपर्ने उनले निर्देशन दिएका छन् ।
धादिङ क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको बैठकमा बोल्दै जम्कट्टेलले विगतका निर्वाचनहरूमा भण्डारीलाई उम्मेदवार बन्न नदिएको आरोप आफूविरुद्ध लगाइँदै आएको स्मरण गराए । ती आरोपलाई अस्वीकार गर्दै उनले भने, “अब पार्टीले रामबहादुर कमरेडलाई न्याय दिएको छ । सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर उहाँलाई जिताउन लाग्नुपर्छ । हार्ने छुट छैन ।”
उनले पार्टीले धादिङ क्षेत्र नम्बर १ मा पनि जित सुनिश्चित हुने गरी योजना बनाएको जानकारी दिँदै क्षेत्र नम्बर २ मा अझ सशक्त रूपमा लाग्नुपर्ने आवश्यकता औँल्याए । “क्षेत्र नम्बर १ मा पनि हामी जित्दैछौँ, तर क्षेत्र नम्बर २ का सबै नेता–कार्यकर्ता आफ्ना–आफ्ना गाउँमा पुगेर भण्डारी कमरेडलाई जिताउन सक्रिय हुनुपर्छ,” उनले भने ।
बैठकमा जानकारी दिइएअनुसार, धादिङ क्षेत्र नम्बर २ ले गत हप्ता केन्द्रीय सदस्य जगत सिंखडाको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । समितिले आगामी निर्वाचनलाई लक्षित गरी प्रचार–प्रसार तथा संगठनात्मक गतिविधिहरू तीव्र बनाउने तयारी गरेको जनाइएको छ ।
