
धादिङ । दशौं धादिङ महोत्सव–२०८२ को तयारी तीव्र पारिएको छ। माघ १५ गतेदेखि २५ गतेसम्म धादिङबेसीमा आयोजना हुने महोत्सवलाई जिल्लाको कृषि, पर्यटन, उद्योग र संस्कृतिको प्रवर्द्धन गर्ने प्रमुख उत्सवका रूपमा विकास गरिने आयोजकले जनाएको छ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव अन्तर्गत यस वर्ष विभिन्न सिर्जनशील तथा प्रतिस्पर्धात्मक कार्यक्रम समावेश गरिएको छ। तीमध्ये TikTok Challenge, कृषि प्रदर्शनी तथा प्रतियोगिता, घरेलु उत्पादन प्रदर्शनी तथा प्रतियोगिता र सांस्कृतिक झाँकी प्रदर्शन तथा प्रतियोगिता मुख्य कार्यक्रमका रूपमा समावेश गरिएका छन्।
महोत्सवका प्रमुख आकर्षणहरूमा विषयगत क्षेत्रमा सरोकारवालासँग प्रत्यक्ष अन्तरसंवाद, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी र प्रतिस्पर्धा, सांस्कृतिक झाँकी प्रदर्शन, भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन गतिविधि, स्थानीय तहका विशेष उत्पादन स्टल तथा जिल्ला पशुसेवा, कृषि विकास र वन कार्यालयद्वारा प्रदान गरिने सेवा तथा परामर्श समावेश छन्।
त्यस्तै, महोत्सव अवधिभर स्थानीय परिकार र सांस्कृतिक खानाको विशेष स्टल, रमाइलो मेला तथा बाल उद्यान र राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ।
महोत्सवमार्फत धादिङ जिल्लाको कृषि उत्पादन, घरेलु उद्योग, पर्यटन र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय किसान, उद्यमी तथा कलाकारहरूलाई बजार, पहिचान र अवसर प्रदान गर्नेछ।
दशौं धादिङ महोत्सवलाई जिल्लाकै सबैभन्दा ठूलो आर्थिक, सांस्कृतिक र प्रवर्द्धनात्मक कार्यक्रमको रूपमा सफल बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।
