धादिङमा फागुन ७ गते अन्तर–विद्यालय गणितीय हाजिरीजवाफ प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
माघ १०, २०८२

धादिङ । गणित शिक्षा परिषद् (Council for Mathematics Education) जिल्ला शाखा धादिङको आयोजनामा यस वर्ष पनि जिल्ला स्तरीय अन्तर–विद्यालय गणितीय हाजिरीजवाफ प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। प्रतियोगिताको उद्देश्य विद्यार्थीमा गणितप्रति सकारात्मक धारणा विकास गर्ने, उच्चस्तरीय ज्ञान अभिवृद्धि गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता बढाउने रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि मात्र खुला रहनेछ। प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी र १ जना गणित शिक्षक सहभागी हुन सक्नेछन्। प्रतियोगिता दुई चरण (छनोट चरण र अन्तिम प्रतिस्पर्धात्मक चरण) मा सञ्चालन हुनेछ।

छनोट चरणमा अनिवार्य तथा अतिरिक्त गणितका ४० वटा बहुवैकल्पिक प्रश्न समावेश गरिनेछ। उत्कृष्ट अंक ल्याउने १० टोली अन्तिम चरणमा प्रवेश गर्नेछन्। समान अंक आएमा थप प्रश्नमार्फत विजेता टोली छानिनेछ। प्रतियोगितामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन र प्रश्न सम्बन्धी कुनै विवाद भएमा आयोजक समितिको निर्णय अन्तिम हुनेछ।

अन्तिम चरणमा विभिन्न विषयगत राउण्डमार्फत प्रतिस्पर्धा गराइनेछ। यसमा
समूह र अंक गणित, क्षेत्रमिति, बीज गणित, तथ्याङ्क र सम्भाव्यता, ज्यामिति र निर्देशाङ्क ज्यामिति, भेक्टर, त्रिकोणमिति तथा स्थानान्तरण लगायतका विषयहरू समावेश हुनेछन्। साथै Visual Round, शैक्षिक सामग्री निर्माण चरण, Rapid Fire र Buzzer Round (Negative Marking सहित) समेत सञ्चालन गरिनेछ।

Visual Round मा गणितीय क्षेत्र, स्थानान्तरण, तथ्याङ्कशास्त्र र त्रिकोणमितिसँग सम्बन्धित प्रश्न सोधिनेछ भने शैक्षिक सामग्री निर्माण चरणमा सहभागी टोलीले घन, प्रिज्म, पिरामिड, फलन तथा पेपर फोल्डिङबाट तयार गरिने गणितीय सामग्री निर्माण गरी प्रस्तुत गर्नुपर्नेछ। Rapid Fire र Buzzer Round मा प्रतिशत, श्रेणी, Math Riddle र स्थानान्तरण म्याट्रिक्ससम्बन्धी प्रश्न रहनेछन्।

प्रतियोगिता २०८२ साल फागुन ७ गते बुधबार बिहान १०:३० बजे नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, धादिङबेसीमा आयोजना हुनेछ।

प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

  • प्रथम पुरस्कार – नगद रु. ६,०००, मेडल, प्रमाण–पत्र, ट्रफी तथा शैक्षिक सामग्री
  • द्वितीय पुरस्कार – नगद रु. ४,५००, मेडल, प्रमाण–पत्र, ट्रफी तथा शैक्षिक सामग्री
  • तृतीय पुरस्कार – नगद रु. ३,०००, मेडल, प्रमाण–पत्र, ट्रफी तथा शैक्षिक सामग्री
  • सान्त्वना पुरस्कार – नगद रु. १,५००, मेडल, प्रमाण–पत्र, ट्रफी तथा शैक्षिक सामग्री

प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरूले २०८२ साल फागुन १ गतेभित्र अनिवार्य सम्पर्क गर्नुपर्ने उत्तम भट्टले बताए । प्रतियोगिताका लागि दर्ता शुल्क नलाग्ने पनि जानकारी दिइएको छ।