
धादिङ । धादिङ जिल्लाको दीगो विकास र आर्थिक समृद्धिलाई लक्ष्य गर्दै आयोजना गर्न लागिएको १०औँ धादिङ महोत्सव–२०८२ यही माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिँदैछ ।
महोत्सवको औपचारिक उद्घाटन माघ १५ गते बिहान ११ बजे धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसी मा हुने छ । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना तथा जलस्रोतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै स्थानीय उद्यमीहरूका उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने उद्देश्य पनि महोत्सवको मुख्य लक्ष्य रहेको छ ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सव सफल बनाउन सबै सरोकारवाला निकाय, व्यवसायी, किसान, युवाहरू तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि हार्दिक आमन्त्रण गरेका छन् ।
महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, औद्योगिक तथा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकार तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ ।
