
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धादिङ क्षेत्र नम्बर २ मा आफ्ना उम्मेदवार रामबहादुर भण्डारीलाई विजयी गराउन केन्द्रिय सदस्य जगत सिंखडाको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
तारा चिन्ह लिएर निर्वाचनमा होमिएका भण्डारीको पक्षमा जनमत सशक्त बनाउन गठन गरिएको समितिमा धादिङ–२ अन्तर्गतका केन्द्रिय सदस्यहरू, एकता प्रक्रियाबाट आएका विभिन्न दलका प्रदेश पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, पालिकास्तरीय नेतृत्व तथा जनवर्गीय संगठनका केन्द्रिय सदस्यहरू समावेश छन्।
संयोजक जगत सिंखडाले समिति औपचारिक रूपमा परिचालन भइसकेको जानकारी दिँदै माघ १२ गतेदेखि घरदैलो अभियान सुरु हुने बताए। उनले धादिङ–२ मा तारा चिन्हमा मतदान गराएर रामबहादुर भण्डारीलाई जिताउने गरी संगठनलाई सक्रिय रूपमा मैदानमा उतारिएको स्पष्ट पारे।
नेकपाले धादिङ–२ लाई रणनीतिक र ऐतिहासिक क्षेत्रका रूपमा लिँदै व्यापक जनसंपर्क, संगठन सुदृढीकरण र मतदाता भेटघाट अभियानलाई प्राथमिकता दिएको जनाएको छ।
