
धादिङ । लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाबीच पालिकाभित्र सामाजिक सेवाका कार्यक्रमहरू दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धतासहित ‘मितेरी भिलेज’ घोषणा गरिएको छ।
बेनिघाट रोराङ गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष लायन विक्रम विश्वकर्माको अध्यक्षता, गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यता तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर लायन पार्वती खरेल पाण्डेको विशिष्ट आतिथ्यतामा मितेरी भिलेज घोषणा गरिएको हो।
कार्यक्रममा डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन विष्णु प्रसाद भण्डारी, डिस्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठ, एरिया को–अर्डिनेटर लायन चक्रबहादुर नेउपाने लगायतको आतिथ्यता रहेको थियो।
राष्ट्रिय माविमा ‘लायन्स मनराम पुस्तकालय’ स्थापना
मितेरी भिलेज घोषणासँगै लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीले लायन्स मनराम प्रतिष्ठानसँगको सहकार्यमा बेनिघाट रोराङ गाउँपालिका–१० खोरभञ्ज्याङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा “लायन्स मनराम पुस्तकालय” को स्थापना तथा उद्घाटन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले सामाजिक सेवाको क्षेत्रमा पालिकासँग मितेरी सम्बन्ध जोडेकोमा लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी परिवारलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दीर्घकालीन सहकार्य गर्दै अघि बढ्न आग्रह गरे।
विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले लायन्स क्लबहरू सधैं सीमान्तीकृत समुदाय, पिछडिएका क्षेत्र, कमजोर वर्ग तथा विपन्न नागरिकहरूको सेवामा अग्रसर रहँदै आएको उल्लेख गरिन्। उनले लायन्स क्लब र स्थानीय तहबीचको मितेरी सम्बन्धले बेनिघाट रोराङका सीमान्तीकृत समुदायलाई शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्रभावकारी लाभ पुग्ने विश्वास व्यक्त गरिन्।
डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन विष्णु प्रसाद भण्डारीले सीमान्तीकृत चेपाङ समुदायका विद्यार्थीहरूको अध्ययन र पठन–पाठनमा सहयोग पुर्याउने उद्देश्यले करिब ५० हजार रुपैयाँ बराबरका पुस्तकहरू सहित पुस्तकालय स्थापना गरिएको जानकारी दिए। साथै पुस्तकालयको दीर्घकालीन सञ्चालन र उपयोग सुनिश्चित गर्न एक लाख रुपैयाँ बराबरको अक्षय कोष पनि व्यवस्था गरिएको बताए।
कार्यक्रमकै अवसरमा क्लबका द्वितीय उपाध्यक्ष तथा धादिङ अस्पतालका कन्सल्टेन्ट एमडी जीपी लायन डा. दिनेश रेग्मीले कक्षा ९ देखि १२ सम्म अध्ययनरत करिब ६० जना विद्यार्थीलाई १ घण्टे मानसिक स्वास्थ्य सचेतना तथा अभिमुखीकरण कक्षा सञ्चालन गरेका थिए। यस कार्यक्रममार्फत विद्यार्थीमार्फत समुदायमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने लक्ष्य लिइएको बताइएको छ।
