मुख्यमन्त्री ईन्द्र बानियाद्वारा सत्यवती माविको ५० औँ वार्षिकोत्सव उद्घाटन हुने

Avatar photo
Dhadingpost
पुस २४, २०८२

धादिङ ।
वि.सं. २०३२ सालमा आँपको रुखको फेदमा विद्यार्थी राखेर पढाइ सुरु गर्दै स्थापना भएको सत्यवती माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाले उद्घाटन गर्ने भएका छन्।

विद्यालयको स्वर्ण जयन्ती अवसरमा आयोजना गरिएको विशेष समारोहको उद्घाटन पुस २५ गते गरिने विद्यालयका प्रधानाध्यापक उपेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार वार्षिकोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमसहित पुस २५, २६ र २७ गते तीन दिनसम्म मनाइनेछ।

सिद्धलेक गाउँपालिका वडा नं. ७ आदमटारमा अवस्थित सत्यवती मावि वि.सं. २०३२ सालमा प्राथमिक विद्यालयका रूपमा स्थापना भएको हो। शिक्षाको पहुँचबाट वञ्चित ग्रामीण भेगका बालबालिकालाई लक्षित गरी सुरु गरिएको यो विद्यालय वि.सं. २०३६ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति गरिएको थियो।

यसैगरी, वि.सं. २०४७ सालदेखि विद्यालयमा माध्यमिक तहको पढाइ सुरु भएको थियो भने वि.सं. २०४९ सालमा पहिलो पटक विद्यार्थीहरूले प्रवेशिका परीक्षामा सहभागिता जनाएका थिए। वि.सं. २०५७ सालमा उच्च माध्यमिक तह (+२) सञ्चालनमा आएको विद्यालयले वि.सं. २०६७ सालदेखि +२ कक्षा दिवा सत्रमा सञ्चालन गर्ने जिल्लाकै पहिलो सामुदायिक विद्यालयको पहिचान बनाएको छ।

आँपको रुखमुनिबाट सुरु भएको सत्यवती माध्यमिक विद्यालयको यात्रा आज अर्धशताब्दी पार गर्दै धादिङ जिल्लाकै अग्रणी सामुदायिक विद्यालयका रूपमा स्थापित भएको छ। ५० औँ वार्षिकोत्सवले विद्यालयको ऐतिहासिक योगदानको स्मरण गर्दै भविष्यका लागि थप शैक्षिक उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।