
धादिङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) धादिङको आयोजनामा दोस्रो जिल्ला परिषद् भेलाको अवसरमा आयोजित एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकाे छ ।
प्याप्सन धादिङको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाभरका निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रम प्याप्सन धादिङका अध्यक्ष दिनेश भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो।
विद्यालय तथा व्यक्तिगत (एकल) तर्फ एकल गायन प्रतियोगिता आयोजना गरिएको थियो, जसमा विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
प्याप्सन धादिङको दोस्रो जिल्ला परिषद् भेलाको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको हो।
विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन, अतिरिक्त क्रियाकलाप प्रवर्द्धन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता विद्यालयगत तथा व्यक्तिगत गरी दुई विधामा सञ्चालन गरिएको थियो।
विद्यालयतर्फ ब्लुमिङ लोटस बोर्डिङ स्कुल प्रथम, मुनाल एकेडेमी द्वितीय र चिल्ड्रेन पार्क सेकेन्डरी स्कुल तृतीय भएका छन् भने एडभान्स एकेडेमी सान्त्वना स्थानमा सीमित भएको छ।
व्यक्तिगत तर्फ ब्लुमिङ लोटस बोर्डिङ स्कुलकी सन्ध्या केसी प्रथम, बेनी शिक्षा सदनकी विमिशा श्रेष्ठद्वितीय र मुनाल एकेडेमीकी कसिस रोएला तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याप्सन बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश सन्जेल, विशेष अतिथि केन्द्रीय सदस्य रमेशकुमार श्रेष्ठ तथा सभापतिबाट मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानु राजा कार्की, उपाध्यक्ष विनोदमान श्रेष्ठ, केन्द्रीय सदस्यहरू, पूर्व केन्द्रीय सदस्य नवराज ओझा, प्रदेश कोषाध्यक्ष रामचन्द्र अरियाल लगायत प्याप्सन धादिङका पदाधिकारी, सदस्य तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
परिषद् भेलाको अवसरमा जिल्लास्तरीय रूपमा शैक्षिक, प्रशासनिक तथा मिडिया क्षेत्रमा योगदान पुर्याउने विद्यालय, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो । साथै एसईई २०८१ मा शतप्रतिशत नतिजा ल्याउने विद्यालय, ए+ (GPA) ल्याउने विद्यार्थी तथा प्रदेशस्तरीय अतिरिक्त क्रियाकलापमा सफल विद्यालयहरूलाई पनि सम्मान गरिएको प्याप्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठले बताए।
