आँपको रुखमुनिबाट अर्धशताब्दीसम्म :सत्यवती माध्यमिक विद्यालयको विगत र वर्तमान

Avatar photo
Dhadingpost
पुस २४, २०८२

शिक्षा कुनै भवन, कक्षा वा पाठ्यपुस्तकमा मात्र सीमित हुँदैन । शिक्षा त पुस्तौँ–पुस्तालाई उज्यालो भविष्यतर्फ डोर्‍याउने दीर्घ यात्राको नाम हो । यही यात्राको एक ऐतिहासिक साक्षी हो—धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. ७, आदमटारमा अवस्थित सत्यवती माध्यमिक विद्यालय । आज विद्यालय आफ्नो स्थापनाको ५० औँ स्मृति दिवस मनाइरहँदा, यसको विगतको संघर्ष, वर्तमानको यथार्थ र भविष्यप्रतिको आशालाई समेटेर स्मरण गर्नु अत्यन्त सान्दर्भिक छ ।

स्थापनाको पृष्ठभूमि : शिक्षाको दीप बालिएको क्षण

वि.सं. २०३२ साल । यस भेगमा विद्यालय भन्नु नै दुर्लभ थियो । शिक्षाको पहुँचबाट वञ्चित आदमटार, अमिलीछाप, बलिनीटार, बसेरी, भुत्याहा, आदमघाट, बेल्खु, मिलनटार, भल्टार, बन्सेटार लगायतका बस्तीका बालबालिकाका लागि विद्यालय केवल सपना जस्तै थियो । कक्षा ५ भन्दा माथि पढ्नका लागि विद्यार्थीहरू ८ किलोमिटर टाढाको आदर्श मा.वि. गजुरी वा तीन घण्टा पैदल हिँडेर सदरमुकामको भैरवी मा.वि. सुनौलाबजार जान बाध्य थिए ।

यही यथार्थलाई आत्मसात् गर्दै, शिक्षाप्रेमी, दूरदर्शी र समाजप्रति समर्पित व्यक्तित्व संस्थापक प्रधानाध्यापक गोविन्दराज शर्मा तथा भीम गिरी, ज्ञानेन्द्रप्रसाद अधिकारी, पुष्पराज खतिवडा, हरिप्रसाद पौडेल, नुरनाथ खतिवडा लगायतका स्थानीय समाजसेवीहरूको सक्रियतामा सत्यवती प्राथमिक विद्यालयको स्थापना भयो । कुनै पक्की भवन थिएन, कुनै सरकारी अनुदान थिएन—आँपको रुखमुनि, शिक्षाको बीउ रोपिएको थियो ।

विद्यालय सञ्चालनका लागि गाउँ–गाउँ पुगेर टोपि थाप्दै अन्न संकलन गरियो । सोही अन्न विक्री गरेर शिक्षकको तलब व्यवस्थापन गरिनु, आज सम्झँदा प्रेरणादायी मात्र होइन, भावुक बनाउने इतिहास हो । यही समर्पणले विद्यालयलाई जीवन दियो ।

नामकरण र सांस्कृतिक पहिचान

विद्यालय रहेको आदमटारमा अवस्थित सत्यवती मन्दिरकै नामबाट विद्यालयको नामकरण गरिएको हो । यसले शिक्षा र संस्कृतिको गहिरो सम्बन्धलाई झल्काउँछ । गाउँपालिकाभित्रका जाल्पा, महाकाली, कालिका, मनकामना, भूमेश्वर आदि विद्यालयहरू पनि धार्मिक–सांस्कृतिक पहिचानसँग जोडिएका नामबाट चिनिनु यस क्षेत्रको विशेषता हो ।

स्तरोन्नतिको यात्रा : संघर्ष र सफलता

कक्षा ५ पछि पढाइ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न वि.सं. २०३६ मा विद्यालयलाई निम्न माध्यमिक तहमा स्तरोन्नति गरियो । त्यसपछि वि.सं. २०४६ मा तत्कालीन कुम्पुर गा.वि.स.का प्रधानपञ्च भैरवप्रसाद खतिवडाको संयोजकत्वमा आयोजित आम भेलाले माध्यमिक विद्यालय सञ्चालन गर्ने ऐतिहासिक निर्णय गर्‍यो । सानो र साँघुरो जग्गामा भवन निर्माण सुरु भई वि.सं. २०४७ सालदेखि माध्यमिक तहको पढाइ आरम्भ भयो ।

स्थापनाकालमा कक्षा ८ मा ३२ विद्यार्थीबाट सुरु भएको यो यात्रा छोटो समयमै उचाइमा पुग्यो । २०४९ सालमा पहिलो पटक प्रवेशिका परीक्षामा सहभागी भई, वि.सं. २०५४ सम्म आइपुग्दा पाँचवटा माध्यमिक तहका दरबन्दी प्राप्त गर्नु विद्यालयको उल्लेखनीय उपलब्धि थियो । प्रधानाध्यापक लक्ष्मण शर्माको कुशल नेतृत्वले विद्यालयलाई जिल्लामै चिनिने संस्थाका रूपमा स्थापित गर्‍यो ।

अन्तर्राष्ट्रिय सहकार्य : जापानदेखि आदमटारसम्म

विद्यालयको विकास यात्रामा कृष्ण खतिवडाको योगदान ऐतिहासिक छ । जापान पुगेपछि उनले हिकिवा जापानका सक्रिय सदस्य ताकासि खाजितासँग सहकार्य गर्दै विद्यालयलाई ११ र १२ कक्षा सञ्चालन गर्ने दिशामा अघि बढाए । हिकिवा जापानको सहयोगमा नयाँ भवन निर्माण भई वि.सं. २०५७ सालमा उच्च माध्यमिक तह सञ्चालन सुरु भयो । पाँच वर्षसम्म दुई जना शिक्षकको तलबसमेत हिकिवा जापानले व्यवस्थापन गर्नु अन्तर्राष्ट्रिय मित्रताको उत्कृष्ट उदाहरण हो ।

यस सहकार्यले विद्यालयलाई तीनतले भवन, शौचालय, कम्प्युटर ल्याब, पुस्तकालयजस्ता भौतिक संरचना प्रदान गर्‍यो । वि.सं. २०६७ सालदेखि +२ कक्षा दिवा सत्रमा सञ्चालन गर्ने जिल्लाकै पहिलो विद्यालय बन्नु गौरवको विषय हो ।

वर्तमान अवस्था : उपलब्धि र चुनौती

आज सत्यवती मा.वि. जिल्लाकै ठूलो सामुदायिक विद्यालयहरूमध्ये एक हो । विद्यार्थी संख्या र परीक्षा नतिजा दुवै सन्तोषजनक छन् । गत वर्षको प्रवेशिका परीक्षामा जिल्लाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउँदै अग्रस्थान सुरक्षित राख्नु विद्यालयको शैक्षिक क्षमताको प्रमाण हो ।

तर, उपलब्धिसँगै चुनौतीहरू पनि छन् । भूकम्पले क्षति पुर्‍याएका संरचनाहरू पुनःनिर्माण गर्न नसकिएको यथार्थ, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालाई थप व्यवस्थित बनाउनु पर्ने तत्कालीन चुनौती छन् ।

भौगोलिक अवस्था र सेवा क्षेत्र

समुद्री सतहबाट ४५३ मिटर उचाइमा, पृथ्वी राजमार्गको छेउमै अवस्थित भए पनि त्रिशूली नदीका कारण कहिल्यै दुर्गम बनेको आदमटार आज विस्तारै सहरीकरणतर्फ उन्मुख छ । ग्रामिण सडकको पहुँचले यातायात सहज बनेको छ । सिद्धलेक गाउँपालिका वडा नं. ७ का अधिकांश गाउँहरू, गल्छी गाउँपालिका वडा नं. २ र ३ तथा गजुरी गाउँपालिका वडा नं. ६ सम्म फैलिएको सेवा क्षेत्रले विद्यालयको क्षेत्रीय महत्व झल्काउँछ ।

निष्कर्ष

आँपको रुखमुनिबाट सुरु भएको सत्यवती माध्यमिक विद्यालयको यात्रा आज आधा शताब्दी पूरा गर्दैछ । यो केवल एउटा विद्यालयको कथा होइन—यो संघर्ष, समर्पण, सहकार्य र आशाको जीवित इतिहास हो । विगतका योगदानलाई सम्मान गर्दै, वर्तमानका चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै, भविष्यका पुस्तालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु नै ५० औँ स्मृति दिवसको सन्देश हो ।

लेखक : उपेन्द्र गिरी
प्रधानाध्यापक, सत्यवती माध्यमिक विद्यालय