
धादिङ । धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ। नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग वाणिज्य संघको आयोजनामा माघ १५ गतेदेखि २५ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी गराइएको छ।
मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघले नीलकण्ठ नगरपालिका–३ स्थित खुल्ला मञ्च, धादिङबेसीमा “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो।
धादिङ उद्योग वाणिज्य संघका अनुसार २०४८ सालमा स्थापना भएयता संघले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा निरन्तर योगदान दिँदै आएको छ। यसअघि पहिलो धादिङ महोत्सव २०६४ देखि नवौँ धादिङ महोत्सव २०८० सम्म विभिन्न नाम र स्वरूपमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती महोत्सवले जिल्लामा उत्पादित वस्तुको बजार विस्तार, पर्यटन प्रवर्द्धन, होटल व्यवसायको वृद्धि तथा कृषिको व्यवसायीकरणमा सकारात्मक प्रभाव पारेको संघको भनाइ छ।
महोत्सवका लक्ष्य र उद्देश्य
- महोत्सवको मुख्य लक्ष्य जिल्लाको आर्थिक गतिशीलता बढाउँदै समग्र विकासमा टेवा पुर्याउनु रहेको छ।
- यसका प्रमुख उद्देश्यहरूमा:
- जिल्लालाई औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्नु
- स्थानीय उत्पादनको बजार प्रवर्द्धन र गुणस्तरीय प्रतिस्पर्धा विकास गर्नु
- घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्नु
- कृषिलाई व्यवसायिक तथा आधुनिक बनाउनु
- पर्यटकीय गन्तव्यको विकास र विस्तार गर्नु
- स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको संरक्षण गर्नु
- लगानीका अवसर सिर्जना गर्नु रहेको छ।
अपेक्षित सहभागिता र संरचना
महोत्सवमा १ लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
- कुल १६० वटा स्टल रहनेछन्, जसमा:
- १०० वटा व्यापारिक स्टल
- २० वटा घरेलु तथा साना उद्योग स्टल
- ४० वटा कृषि तथा अन्य उत्पादन स्टल रहनेछन्।
मुख्य आकर्षण
महोत्सवका आकर्षणहरूमा:
- सरोकारवालासँग विषयगत प्रत्यक्ष अन्तरसंवाद
- कृषि तथा घरेलु उत्पादन प्रदर्शनी एवं प्रतियोगिता
- सांस्कृतिक झाँकी प्रदर्शन
- भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम
- सबै स्थानीय तहका विशेष उत्पादन स्टल
- कृषि, पशुसेवा तथा वन कार्यालयको परामर्श सेवा
- स्थानीय परिकार र संस्कृति
- रमाइलो मेला तथा बाल उद्यान
- राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको दैनिक सांस्कृतिक प्रस्तुति रहनेछन्।
महोत्सव सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिने छ, जसको संयोजकमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी र सह–संयोजकमा वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी रहनेछन्। साथै ५१ सदस्यीय सल्लाहकार समिति, २५ सदस्यीय सचिवालय समिति र २४ वटा विषयगत समिति गठन गरिनेछ।
पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष डल्लेलाकाेटीले दशौँ धादिङ महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन सञ्चारकर्मीहरू भूमिका महत्त्वपूर्ण हुने हुँदा साथ र सहयाेगकाे अपेक्षा गरिएकाे बताएका थिए ।

