काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरू आपसी तालमेलसहित चुनावी प्रक्रियामा अघि बढेका छन्।
नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट हुँदै गएपछि परम्परागत ठूला दलहरू पनि सहकार्यको रणनीतिमा केन्द्रित भएका छन्। यही क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ।
सहमति अनुसार १८ सिटमध्ये कांग्रेस र एमालेले समान रूपमा ७–७ सिटमा उम्मेदवारी दिने तयारी गरेका छन्। यस्तै, नेकपा (माओवादी केन्द्र) ले २ सिटमा प्रतिस्पर्धा गर्नेछ भने जसपा नेपाल–लोसपा एकीकृत समूहले २ सिट पाउने सहमति भएको स्रोतले जनाएको छ।
दलहरूबीच भएको यस सहकार्यलाई निर्वाचनमा साझा रणनीतिका रूपमा हेरिएको छ।
