प्याब्सन धादिङद्वारा तृतीय त्रैमासिक परीक्षा सुरु, १३ हजार विद्यार्थी सहभागी

Avatar photo
Dhadingpost
पुस २०, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङअन्तर्गतका विद्यालयहरूमा तृतीय त्रैमासिक परीक्षा आजबाट सुरु भएको छ। संगठनका सचिव भीमबहादुर श्रेष्ठ का अनुसार परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरू प्याब्सन धादिङले स्वयं तयार गरी सबै सम्बन्धित विद्यालयमा समयमै पठाइसकेको छ।

धादिङ जिल्लामा प्याब्सनमा आवद्ध ३२ वटा निजी तथा आवासीय विद्यालय रहेका छन्, जहाँ करिब १३ हजार विद्यार्थीहरू यस परीक्षामा सहभागी हुँदैछन्। सबै विद्यालयमा एउटै पाठ्यपुस्तक, एउटै प्रश्नपत्र र एउटै परीक्षा योजना लागू गरिएको छ। यसरी समान ढाँचामा परीक्षा सञ्चालन गर्दा शैक्षिक मूल्याङ्कनमा समानता कायम हुने, विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न सहज हुने र नतिजा विश्वसनीय बन्ने विश्वास गरिएको छ।

अभिभावक र शिक्षकहरूले पनि सामूहिक ढाँचामा सञ्चालन हुने परीक्षाले विद्यार्थीमा अनुशासन, अध्ययनप्रतिको निरन्तरता र प्रतिस्पर्धात्मक भावना विकास हुने बताएका छन्। प्याब्सन धादिङले विगतदेखि नै सामूहिक प्रश्नपत्र तयारी र परीक्षा प्रणाली अपनाउँदै आएको छ, जसले धादिङ जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।