गजुरी–२ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, अध्यक्षमा भरत डल्लाकाेटी

Avatar photo
Dhadingpost
पुस १९, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गजुरी गाउँपालिका समितिको आयोजनामा गजुरी गाउँपालिका वडा नम्बर २ को प्रथम वडा भेला आज २०८२ पुष १९ गते शनिबार सम्पन्न भएको छ।

भेला गजुरी गाउँपालिकाका सभापति मिलन डल्लाकोटीको सभापतित्वमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य रामकुमार थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त भेलाले भरत डल्लाकोटीको संयोजकत्वमा ९ सदस्यीय वडा समिति चयन गरेको छ। नवगठित समितिले पार्टी संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा धादिङ जिल्ला सभापति सूर्यमणि पाठक, जिल्ला सहसचिव राम भण्डारी, धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति श्रवण त्रिपाठी, क्षेत्रीय उपसभापति रामजी पाठक तथा गल्छी गाउँपालिका सभापति कुमार रिमाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य चन्द्रमान तामाङले ‘घन्टी गीत’ प्रस्तुत गर्दै सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।

वडा भेलाले गजुरी–२ मा पार्टी संगठनलाई अझ सशक्त बनाउने र आगामी राजनीतिक गतिविधिमा सक्रिय सहभागिता जनाउने निर्णयसमेत गरेको आयोजकले जनाएको छ।