भारतमा अन्तर्राष्ट्रिय गोजुरियो कराते सेमिनार जारी, नेपालबाट रमेश अधिकारी सहित १० सहभागी

Avatar photo
Dhadingpost
पुस १६, २०८२

धादिङ । भारतको उत्तर प्रदेशमा अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रशिक्षक सेमिनार जारी रहेको छ। जापान गोजुरियो कराते डो केनवाकाई र इन्डिया संघद्वारा संयुक्त रूपमा आयोजित उक्त सेमिनार सन् २०२५ डिसेम्बर २५ देखि २०२६ जनवरी ३ सम्म सञ्चालन हुने जनाईएको छ।

सेमिनारमा प्रमुख प्रशिक्षक रमेश अधिकारीको नेतृत्वमा नेपालबाट १० जना प्रशिक्षक, रेफ्री तथा खेलाडी सहभागी भएका छन्। साथै जापान, श्रीलंका, अमेरिका, बङ्गलादेश, भारत र क्यानडा लगायतका देशका खेलाडी तथा प्रशिक्षकहरूको समेत सहभागिता रहेको छ।

कार्यक्रममा जापानबाट ग्राण्ड मास्टर आकिओ ताकाहासी (९० डान) को विशेष उपस्थिति रहेको छ। साथै जापानका सहायक मास्टर कोजी क्यानडा र मास्टर आकिओ शिवाजावा, भारतका वरिष्ठ प्रशिक्षक तथा खेलकुद प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन्।

सेमिनारले अन्तर्राष्ट्रिय स्तरमा कराते खेलको प्रवर्द्धन, प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तथा विभिन्न देशका खेलाडी र प्रशिक्षकबीच आपसी अनुभव आदान–प्रदानमा सहयोग पुग्ने विश्वास लिइएको छ।