
धादिङ । अनलाइन मिडिया सोसाइटी धादिङको आयोजनामा जिल्लामा सञ्चालनमा रहेका अनलाइन मिडियामा आबद्ध पत्रकारहरूका लागि एकदिवसीय डिजिटल मिडिया तालिम सम्पन्न भएको छ।
तालिममा डिजिटल युगअनुसार समाचार उत्पादन, वितरण र व्यवस्थापनका विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको थियो। तालिमलाई डिजिटल मिडिया प्रशिक्षक अनिल अधिकारी र डिआर आचार्य ले सहजीकरण गरेका थिए।
तालिममा जिल्लाभरिका विभिन्न अनलाइन मिडियामा आबद्ध ३९ जना पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ ले गरेका थिए। उद्घाटन सत्रमा अध्यक्ष तामाङले डिजिटल माध्यमको जिम्मेवार प्रयोग, तथ्यपरक पत्रकारिता र स्थानीय तहको विकासमा अनलाइन मिडियाको भूमिकाबारे चर्चा गरेका थिए।
तालिममा सहभागी पत्रकारहरूलाई डिजिटल पत्रकारिता, सामग्री वितरणका प्रभावकारी तरिका, फोटो तथा भिडियो सम्पादन, सोसल मिडिया एल्गोरिदम, आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग, तथ्य जाँच (Fact-checking) तथा डिजिटल सुरक्षा, गोपनीयता र मोनेटाइजेसन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
अनलाइन मिडिया सोसाइटी धादिङले यस्ता तालिमहरूले पत्रकारहरूको क्षमता अभिवृद्धि, डिजिटल दक्षता विकास र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।तस्बिर: सिताराम अधिकारी

