वि.पी.को राष्ट्रिय मेलमिलाप नीति र कांग्रेसमा आजको भाडभैलो

Avatar photo
Dhadingpost
पुस १६, २०८२

— अश्विन दुवाडी
(नेपाली कांग्रेस धादिङ, क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवारमध्येका एक जेन्जी नेता)

आज पुस १६ गते नेपाली कांग्रेसले आफ्नो क्यालेन्डरमा अंकित राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रमसहित मनाउँदै आएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र उहाँको सरकारलाई अपदस्थ गर्दै तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते लोकतन्त्रमाथि गरेको “कू” पश्चात भारत निर्वासनमा जान बाध्य बनाइएका वि.पी. कोइराला लगायतका नेताहरू २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाइँदै आएको हो।

२०१५ सालको आम निर्वाचनबाट निर्वाचित सरकारलाई अपदस्थ गरी तत्कालीन प्रधानमन्त्री वि.पी. कोइरालालाई सुरुमा करिब तीन महिना सिंहदरबारभित्र नजरबन्दमा राखी पछि सुन्दरीजल सारिएको थियो। करिब आठ वर्ष सुन्दरीजल बन्दीगृहमा कठिन बन्दी जीवन बिताएपछि २०२५ सालमा उपचारका लागि भारत जान अनुमति पाउनुभएको थियो।

भारतमा उपचारसँगै राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै करिब आठ वर्षको निर्वासन त्यागी “बरु जेल स्वीकार्छौँ तर देश छोड्दैनौँ” भन्ने अठोटसहित वि.पी. कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो।
राष्ट्र कमजोर भयो भने लोकतन्त्र बच्दैन” भन्ने महान विचारका साथ आफू पुनः बन्दी बनाइने थाहा हुँदाहुँदै पनि राष्ट्र र लोकतन्त्रको हितका लागि स्वदेशमै बन्दी जीवन स्वीकार्ने साहस उनमा थियो। स्वदेश फर्किएलगत्तै उहाँहरूलाई तत्कालीन राज्य सत्ताले विमानस्थलबाटै पुनः नियन्त्रणमा लिएको थियो।

राष्ट्रहितका लागि जस्तोसुकै कठिन यात्रा तय गर्न तयार देखिने ती महान नेताले राष्ट्रियता, समाजवाद र लोकतन्त्रका लागि उभिनुपर्छ भन्ने उद्देश्यले स्थापना गरेको नेपाली कांग्रेस आज देशको लोकतन्त्रभन्दा बढी पार्टीभित्रकै आन्तरिक लोकतन्त्र जोगाउन नसक्ने अवस्थामा पुगेको देखिन्छ।

राष्ट्रिय मेलमिलाप दिवसमा वि.पी.लाई सम्झेर चर्का भाषण गर्न रमाउने नेतृत्व र नेताहरू आपसमा भने पद, अवसर र शक्ति प्राप्तिका लागि भाडभैलो गरिरहेका छन्। लोकतन्त्रलाई सबैभन्दा ठूलो आधार मान्ने कांग्रेस आफ्ना दस्तावेज, नीति र भाषणमा लोकतन्त्रको वकालत गर्न कहिल्यै चुक्दैन, तर व्यवहारमा भने अवसरका लागि हदैसम्मको अलोकतान्त्रिक बन्न पनि पछि पर्दैन।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद” लाई मूल नारा बनाएको कांग्रेसमा पछिल्लो समय न राष्ट्रियता स्पष्ट देखिन्छ, न लोकतान्त्रिक अभ्यास नै अनुभूत हुन्छ। समाजवादलाई त उसले पहिले नै पुँजीपतिहरूसँग साटासाट गरिसकेको जस्तो भान हुन्छ। पार्टीभित्र नातावाद, कृपावाद, पुँजीपतिहरूको हालीमुहाली, अवसरवाद र सामन्ती घरानाको बिगबिगीले कांग्रेसको लोकतन्त्रमा धमिरा लागेको देखिन्छ।

हरेक कार्यक्रममा वि.पी.को तस्वीरमा माल्यार्पण गरेर कार्यक्रम सुरु गर्ने कांग्रेसले आज पनि “राष्ट्रिय मेलमिलाप दिवस” मा अबिर चढाउला, माला लगाउला। तर जब नेताहरू मञ्चमा पुग्छन्, मेलमिलाप दिवसकै कार्यक्रममा पनि कुण्ठा, प्रतिशोध र आक्रोश बाहेक अरू केही पोखिएको पाइँदैन।

हिजो मात्र निर्वाचन कार्यालयमा बुझाइएको समानुपातिक बन्द सूची ले कांग्रेसको लोकतान्त्रिक अभ्यास, समानुपातिक प्रणालीप्रतिको बुझाइ र अवसरवादको स्पष्ट नमुना देखाएको छ। अब हेर्न बाँकी छ— कांग्रेसभित्र मेलमिलापको नयाँ रूप कस्तो देखिने हो।
अन्त्यमा, लोकतन्त्र प्राप्ति र रक्षाका निम्ति वि.पी. कोइराला लगायतका नेताहरूले सहनु भएको कष्टको स्मरण गर्दै कांग्रेसजनमा यथाशीघ्र मेलमिलाप र आत्मसमीक्षाको भावना जागृत होस् भन्ने कामनासहित—
पुस १६, राष्ट्रिय मेलमिलाप दिवसको हार्दिक शुभकामना। 🙏