
धादिङ । पुस ९ गतेदेखि गजुरी–५ स्थित गलौंदी खेलमैदानमा जारी धादिङ जिल्ला स्तरीय अन्तरविद्यालय यू–१४ छात्र/छात्रा एन्फा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
३२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ पुस ११ गते हुने सेमिफाइनलमा न्यू किबो धादिङ बागेश्वरी माध्यमिक विद्यालय मलेखु, डोलभञ्ज्याङ माध्यमिक विद्यालय र मुनाल एकेडेमी गजुरी प्रवेश गरेका छन्।
क्वार्टरफाइनल चरणमा न्यू किबो धादिङले डियर वाक इबीएस धुनिबेसीलाई ७–०, बागेश्वरी माध्यमिक विद्यालय मलेखुले ब्राइट फ्युचर इबीएस मलेखुलाई ४–०, डोलभञ्ज्याङ माध्यमिक विद्यालयले आदर्श माध्यमिक विद्यालय गजुरीलाई ३–० र मुनाल एकेडेमी गजुरीले महाकाली माध्यमिक विद्यालय पिपलटारलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।
छात्रा तर्फको फाइनल खेल पुस ११ गते दिउँसो १ बजे बागेश्वरी माध्यमिक विद्यालय र ब्राइट स्टार बोर्डिङ स्कुलबीच हुनेछ भने छात्र तर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन पुस ९ गते अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष पंकज नेम्वाङको उपस्थितिमा सम्पन्न भएको थियो। उद्घाटनका दिन सहभागी सबै विद्यालयलाई एन्फा तथा फिफाद्वारा खेलकुद सामग्री प्रदान गरिएको थियो।
यू–१४ छनोट प्रतियोगितामार्फत जिल्लाबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी प्रदेश तथा राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिने एन्फा धादिङले जनाएको छ।
