झुपडीबाट आधुनिक शिक्षालयसम्म: पिपल भञ्ज्याङ माविको ७० वर्षको गौरवपूर्ण यात्रा र भव्य वार्षिकोत्सव!

Avatar photo
Dhadingpost
पुस १०, २०८२

धादिङ, बेनिघाट रोराङ। मिति २०८२ पौष ९ गते पिपल भञ्ज्याङ माध्यमिक विद्यालयले आफ्नो ७० औँ वार्षिकोत्सव कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख आदरणीय कृष्ण बहादुर थपलिया (विवेक) प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने गाउँ शिक्षा अधिकारी बोधराज पाठकको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा भित्रका सबै प्रधानाध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वार्षिकोत्सव समारोहमा विद्यालयले खेलकुद, स्वास्थ्य, सांस्कृतिक र शैक्षिक कार्यक्रमलाई समेत समेटेको थियो। खेलकुदमा विजेता विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो। साथै, विद्यालय नर्स स्वस्तिका सापकोटाबाट स्वास्थ्य प्रदर्शनी पनि आयोजित गरियो।
यसै अवसरमा विद्यालय स्मारिका विमोचन, उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकलाई अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयमा महत्त्वपूर्ण योगदान पुर्याएका संघ–संस्था र व्यक्तित्वहरूलाई पनि सम्मान गरियो। शिक्षक तथा विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुतिले कार्यक्रममा थप रोमान्च सिर्जना गरेको थियो।

कार्यक्रमको समापन बेला प्रमुख अतिथिसहित अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमका सभाध्यक्ष हेमराज भुजेल, बेनिघाट रोराङ वडा न. २ का वडाध्यक्षले कार्यक्रम सफल पार्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे।


७० वर्षको यात्रा: झुपडीबाट आधुनिक शिक्षालयसम्

पिपल भञ्ज्याङ माविको स्थापना वि.सं. २०१३ सालमा साविक महादेवस्थान गाउँ विकास समिति अन्तर्गत सानो झुपडीमा गरिएको थियो। शिक्षाप्रेमी समाजसेवी र गन्यमान्य व्यक्तिहरूको सक्रियतामा गाउँलेहरूले सुरु गरेको यो विद्यालयले आज प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक पहुँच विस्तार गर्दै बेनिघाट रोराङको अग्रणी शैक्षिक संस्था बन्न सफल भएको छ।
सात दशकको लामो यात्रा, कठिनाइ र उपलब्धिहरूलाई सम्झिँदै पिपल भञ्ज्याङ मावि आज सम्पूर्ण गाउँका लागि शिक्षा, स्वास्थ्य र संस्कृतिको केन्द्रको रूपमा स्थापित भएको छ।