धादिङमा एन्फाद्वारा जारी यू–१४ फुटबल छनोटमा भद्रकाली गुरुकुलको सहभागिता

Avatar photo
Dhadingpost
पुस ९, २०८२

धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) धादिङको आयोजनामा जारी यू–१४ जिल्ला स्तरीय फुटबल छनोट प्रतियोगितामा मलेखुस्थित भद्रकाली गुरुकुल विद्यालयबाट पनि खेलाडीहरू सहभागी भएका छन्। गुरुकुल शिक्षण पद्धतिबाट पहिलोपटक यू–१४ फुटबल जिल्ला छनोटमा सहभागिता जनाइएको बताइएको छ।

एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार सम्भवतः गुरुकुल शिक्षण संस्थाबाट यू–१४ फुटबल जिल्ला सेलेक्सनमा सहभागी हुने यो पहिलो अवसर हो। यसलाई जिल्लाको खेलकुद इतिहासमा सकारात्मक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ।

छनोट प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय अध्यक्ष पंकज नेम्बाङले मंगलबार एक औपचारिक कार्यक्रमबीच गरेका हुन्। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेलमैदानमा सञ्चालन भइरहेको छ।

जिल्लाभरिका ३२ विद्यालयको सहभागिता रहेको उक्त छनोट प्रतियोगितामा सहभागी सबै विद्यालयलाई एन्फा तथा फिफाद्वारा खेलकुद सामग्री समेत प्रदान गरिएको आयोजकले जनाएको छ।

यू–१४ छनोट प्रतियोगितामार्फत जिल्लाबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी प्रदेश तथा राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिने एन्फा धादिङले जनाएको छ।