
धादिङ । नेपाल तेक्वान्दो संघले संघको आधिकारिकता र सर्वोच्च अदालतको फैसलाको आधारमा प्रदेशअन्तर्गत तेक्वान्दो खेलसम्बन्धी कुनै पनि गतिविधि, प्रतियोगिता वा कार्यक्रम आयोजना गर्दा संघसँग समन्वय गर्न अनुरोध गरेको छ।
नेपाल तेक्वान्दो संघका अनुसार, नेपाल खेलकुद संघ ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २२ को उपदफा (२) अनुसार एक खेलका लागि एक मात्र आधिकारिक खेल संघ रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नेपाल तेक्वान्दो संघलाई मात्र आधिकारिक संघका रूपमा मान्यता प्राप्त भएको जनाएको छ।
संघले सर्वोच्च अदालत पाटनबाट मिति २०८१/०९/२४ मा भएको फैसलाले समेत नेपाल तेक्वान्दो संघलाई मात्र आधिकारिक संघ ठहर गरेको उल्लेख गर्दै उक्त फैसलाको पूर्ण पाठ मिति २०८२/०३/१९ मा संघले प्राप्त गरिसकेको जानकारी दिएको छ।
यस आधारमा, प्रदेशअन्तर्गत तेक्वान्दो खेलसम्बन्धी कुनै पनि गतिविधि, प्रतियोगिता वा आयोजना सञ्चालन गर्नुपर्ने अवस्थामा नेपाल तेक्वान्दो संघसँग आवश्यक समन्वय र सहकार्य गर्नुपर्ने स्पष्ट गरिएको छ।
संघका सदस्य–सचिव दीपक लामाले जारी गरेको सूचनामा प्रदेश, जिल्ला तथा सरोकारवाला निकायलाई संघको आधिकारिकताको सम्मान गर्दै कार्य गर्न अनुरोध गरिएको छ। साथै, नेपाल तेक्वान्दो संघबाट प्राप्त प्रमाणपत्रसमेत यस सूचनासँग संलग्न गरी पठाइएको जनाइएको छ।

