धादिङमा यू–१४ फुटबल छनोट प्रारम्भ- एन्फा अध्यक्ष नेम्वाङद्वारा खेल मैदान निर्माणमा सहयाेग गर्ने प्रतिवद्धता

Avatar photo
Dhadingpost
पुस ८, २०८२

धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा आजदेखि अन्तरविद्यालय स्तरीय यू–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा उद्घाटन कार्यक्रमसहित औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष पंकज नेम्वाङले धादिङको फुटबल विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले मापदण्डअनुसार खेल मैदान निर्माणका लागि योजना ल्याउन स्थानीय निकायलाई आह्वान गर्दै, धादिङमा खेल मैदान निर्माणका लागि एन्फाको तर्फबाट सहयोग गर्ने घोषणा गरे ।

एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार प्रतियोगितामा जिल्लाभरका ३२ वटा विद्यालय सहभागी छन्। प्रतियोगितामा सहभागी सबै विद्यालयलाई एन्फा तथा फिफाद्वारा खेलकुद सामग्री प्रदान गरिने जानकारी उनले दिए।
आज सम्पन्न उद्घाटन कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष दीपक खतिवडा, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बालबालिकाको प्रतिभा पहिचान र फुटबलको आधारशिला मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले धादिङको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।