झुपडीबाट आधुनिक शिक्षालयसम्म : धादिङको पिपल भञ्ज्याङ मावि ७० औँ वर्षमा प्रवेश

Avatar photo
Dhadingpost
पुस ८, २०८२

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–२ मा अवस्थित पिपल भञ्ज्याङ माध्यमिक विद्यालयले स्थापनाको ७० औँ वर्षमा प्रवेश गरेको छ। सात दशक लामो शैक्षिक यात्रालाई स्मरण गर्दै विद्यालयले पुस ९ गते भव्य कार्यक्रमका साथ ७० औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ।

वार्षिकोत्सव समारोह बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनाबारे समेत छलफल गरिनेछ।

इतिहास : झुपडीबाट शैक्षिक धरोहरसम्म

पिपल भञ्ज्याङ माध्यमिक विद्यालयको स्थापना वि.सं. २०१३ सालमा साविक महादेवस्थान गाउँ विकास समिति अन्तर्गत पिपल भञ्ज्याङ गाउँमा गरिएको हो। यस क्षेत्रका शिक्षाप्रेमी समाजसेवी तथा गन्यमान्य व्यक्तिहरूको सक्रियतामा गाउँलेहरूले बनाएको सानो झुपडीबाट विद्यालय सञ्चालन सुरु गरिएको थियो।

विभिन्न आरोह–अवरोह पार गर्दै आज पिपल भञ्ज्याङ मावि बेनिघाट रोराङ गाउँपालिकाको अग्रणी तथा विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित हुन सफल भएको छ। सात दशकको अवधिमा विद्यालयले प्राथमिक तहदेखि माध्यमिक हुँदै उच्च माध्यमिक तहसम्मको शैक्षिक पहुँच विस्तार गरेको छ।

शैक्षिक विस्तार र अनुमति प्राप्त मिति

विद्यालयले विभिन्न चरणमा कक्षा विस्तार गर्दै आएको छ।

  • कक्षा १ सञ्चालन अनुमति : वि.सं. २०१३
  • कक्षा ६ सञ्चालन अनुमति : वि.सं. २०३५
  • कक्षा ९ सञ्चालन अनुमति : वि.सं. २०५५
  • कक्षा ११ सञ्चालन अनुमति : वि.सं. २०७५
  • कक्षा १२ सञ्चालन अनुमति : वि.सं. २०७६

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष विष्णुहरी सेढाईं हुन् भने हालको अध्यक्ष हेमराज भुजेल रहेका छन्।

वर्तमान अवस्था र भौतिक सुविधा

हाल विद्यालयमा ५७४ जना विद्यार्थी अध्ययनरत छन् भने २६ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। बालविकासदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने यस विद्यालयमा आधुनिक सुविधायुक्त कक्षाकोठा, इन्टरनेट सेवा तथा स्मार्ट बोर्डको व्यवस्था गरिएको छ।

शैक्षिक गतिविधिका अतिरिक्त खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गरेको छ।

शैक्षिक उपलब्धि

शैक्षिक वर्ष २०८१ को एसईई परीक्षामा विद्यालयको उत्तीर्ण प्रतिशत ७३.०५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले वृद्धि भएको हो। त्यसैगरी कक्षा १२ को नतिजामा पनि अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले सुधार भई ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

हाल कक्षा ९ र १० मा ऐच्छिक गणित, अर्थशास्त्र, शिक्षा तथा ऐच्छिक द्वितीय विषय पढाइँदै आएको छ भने कक्षा ११ र १२ मा अंग्रेजी, नेपाली र स्वास्थ्य विषय सञ्चालनमा रहेका छन्।