
धादिङ । रोटरी क्लब अफ धादिङले निलकण्ठ नगरपालिका–२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ४५ जना असहाय तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण गरेको छ ।
सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको रोटरी क्लब अफ धादिङका सदस्यहरूले आफैंले जुटाएको रकमबाट विद्यार्थीहरूलाई स्वीटर, टोपी तथा आवश्यक स्टेसनरी सामग्री प्रदान गरेका हुन् ।
कार्यक्रममा रोटरी क्लब अफ धादिङका अध्यक्ष रो. डा. रामचन्द्र रिजाल, पूर्व अध्यक्ष तथा रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका भोकस्नल चेयर रो. अशोक कुमार बस्नेत तथा म्याडम शिरिषा बस्नेत, वर्ष २०२६/०२७ का अध्यक्ष रो. विष्णु कुमार श्रेष्ठ, सचिव रो. प्रकाश भण्डारी, रोटर्याक्ट क्लब अफ धादिङका अध्यक्ष रो. श्रीकृष्ण रिजाल, उपाध्यक्ष रो. भवानी भट्टराईलगायत रो. सपना दाहाल, रो. सन्धिप रिजाल, रो. पवन आचार्य, राम घलेलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष रो. डा. रामचन्द्र रिजालले आफ्नी छोरीको जन्मदिनको अवसरमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । त्यस्तै, पूर्व अध्यक्ष रो. अशोक कुमार बस्नेतले आफूले अध्ययन गरेको विद्यालयमा १०+२ सञ्चालनका लागि पहल गर्दै व्यक्तिगत रूपमा उल्लेखनीय सहयोग गरेको स्मरण गर्नुभयो । भूकम्पपछि विद्यालयका लागि टहरा निर्माणदेखि विभिन्न चरणमा रोटरीयनका रूपमा सहयोग गर्न पाउँदा गर्व लागेको उहाँको भनाइ थियो ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक जानुका कडेलले सहयोग गर्ने सम्पूर्ण दाताहरू तथा रोटरी क्लब परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
