धादिङ अस्पतालको ४९औँ वार्षिक उत्सव सम्पन्न, नर्सिङ कलेज बनाउने घोषणा

Avatar photo
Dhadingpost
पुस ५, २०८२

धादिङ । धादिङ अस्पतालले आफ्नो ४९औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । एक साता लामो विभिन्न स्वास्थ्य सचेतना तथा गतिविधिहरू आयोजना गर्दै आएको अस्पतालले शुक्रबार विशेष समारोहका बीच वार्षिक उत्सव मनाएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले धादिङ अस्पतालमा विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता जनाएका छन् ।

उनले स्वास्थ्य विभागको नाममा रहेको करिब ३४ रोपनी क्षेत्रफलको अस्पताल जग्गा धादिङ अस्पतालकै नाममा ल्याइने स्पष्ट पार्दै भौतिक पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरिने र नयाँ संरचना निर्माणको काम अघि बढाइने बताए ।

यसैगरी, मन्त्री थापा मगरले धादिङमै नर्सिङ कलेज सञ्चालन गरिने घोषणा गरेका छन् ।

कार्यक्रममा निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाद्वारा लिखित ‘गुडवाई सुगर एडिक्सन’ पुस्तकको लोकार्पणसमेत गरिएको छ । मधुमेह (सुगर) रोग लाग्ने कारण, रोकथामका उपाय तथा भइहालेमा अपनाउनुपर्ने सावधानीबारे पुस्तकमा उल्लेख गरिएको छ ।

वि.सं. २०३३ साल मंसिर २६ गते ‘धादिङ हेल्थ सेन्टर’ का रूपमा स्थापना भई सेवा सुरु गरेको धादिङ अस्पतालले समयक्रमसँगै आफ्नो सेवा र संरचना विस्तार गर्दै आएको छ। प्रारम्भिक चरणमा सीमित सेवा प्रदान गर्दै आएको अस्पताल हाल Secondary A स्तरको प्रादेशिक अस्पतालका रूपमा स्थापित भएको छ।