
धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा सम्पन्न जिल्लास्तरीय प्रतियोगितात्मक माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बागेश्वरी माध्यमिक विद्यालय, रिचोकटार प्रथम भएको छ।
२०८२ पौष ४ गते सम्पन्न उक्त प्रतियोगितामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, धादिङबेसी द्वितीय तथा सत्यवती माध्यमिक विद्यालय, सिद्धलेक तृतीय भएका छन्।
जिल्लाका ११ वटै स्थानीय तहको सहभागिता रहेको यस प्रदर्शनी कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै बागेश्वरी माविले प्रथम स्थान हासिल गरेको हो।

कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ, धादिङका इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा विकास निर्देशनालय, हेटौँडाका शाखा अधिकृत होमबहादुर नेपाली, नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. मुरारी अधिकारी, तथा नीलकण्ठ बालमन्दिर माविका प्रधानाध्यापक विष्णुप्रसाद रिजाललगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै शाखा अधिकृत होमबहादुर नेपालीले बागमती प्रदेशभरकै तुलनामा धादिङ जिल्लाको विज्ञान प्रदर्शनी कार्यक्रम उत्कृष्ट रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, धादिङलाई धन्यवाद व्यक्त गर्नुभयो।
विद्यार्थीको सिर्जनशीलता, वैज्ञानिक सोच र प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
