
धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा आगामी पुस ८ गतेदेखि अन्तरविद्यालय स्तरीय यू–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा आयोजना हुनेछ।
एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार प्रतियोगितामा जिल्लाका ३२ वटा विद्यालय सहभागी हुनेछन्। सहभागी सबै विद्यालयलाई एन्फा तथा फिफाद्वारा खेलकुद सामग्री प्रदान गरिनेछ।
बालबालिकाको खेल प्रतिभा पहिचान र फुटबल विकासलाई लक्ष्य गरी आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष पंकज नेम्वाङको विशेष उपस्थित रहने कार्यक्रम रहेको छ।
स्थानीय तह, विद्यालय तथा अभिभावकको सक्रिय सहयोगमा प्रतियोगिता सफल बनाइने आयोजकले जनाएको छ।
