सरस्वती मावि धुवाँकोटमा अन्तरसदनात्मक क्रिकेट, विद्यार्थीमा बढ्दै क्रिकेटको क्रेज

Avatar photo
Dhadingpost
पुस ३, २०८२

धादिङ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा यस वर्ष पनि अन्तरसदनात्मक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। विद्यालयमा सञ्चालन भइरहेको वार्षिक खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत पौष १ गतेदेखि विभिन्न खेल गतिविधि सुरु भएसँगै क्रिकेट प्रतियोगिताले विशेष आकर्षण पाएको छ।

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि विद्यार्थीहरूबीच खेल भावना, अनुशासन र नेतृत्व विकास गर्ने उद्देश्यले अन्तरसदनात्मक क्रिकेट प्रतियोगितालाई प्राथमिकतामा राखिएको विद्यालयले जनाएको छ। पछिल्लो समय नेपालभर क्रिकेटप्रतिको चासो र लोकप्रियता तीव्र रूपमा बढिरहेको सन्दर्भमा, विद्यालय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्रिकेटलाई मुख्य खेलका रूपमा अघि सारिएको हो।

विद्यालयका खेलकुद शिक्षक खेमराज बस्तीले क्रिकेट खेलप्रति विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताउँदै भने, “विद्यालय स्तरमै क्रिकेटलाई प्रोत्साहन गर्न सके भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ। त्यसैले यस वर्ष पनि क्रिकेटलाई प्राथमिकतामा राखिएको हो।”

प्रतियोगितामा विद्यालयका विभिन्न सदनबीच प्रतिस्पर्धा हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ। खेलकुदमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुग्ने विश्वास लिइएको विद्यालयको भनाइ छ।