बागमती प्रदेश सरकारको कार्यशैलीप्रति प्रतिपक्षको आपत्ति, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Avatar photo
Dhadingpost
पुस २, २०८२

हेटौंडा । प्रतिपक्ष दलहरूले बागमती प्रदेश सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

भाद्र २३ र २४ गतेको जेन्जी विद्रोहपछि देश गम्भीर संकटमा परेको प्रतिपक्षको भनाइ छ। यस्तो अवस्थामा पनि प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाइएको छ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट यही गठबन्धन सरकारबाट आएको थियो। तर सरकारले बजेट कार्यान्वयन प्रभावकारी गर्न नसकेको प्रतिपक्षको आरोप छ।

दोस्रो त्रैमासिक सकिँदासम्म बजेट खर्च कमजोर रहेको जनाइएको छ। मन्त्रालयअनुसार फरक निर्देशन दिइएको र विनियोजित बजेट कटौती गरिएको पनि भनिएको छ।

जेन्जी विद्रोहपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन। चालु बजेट अधिवेशनसमेत अन्त्य गरिएको प्रतिपक्षको दाबी छ।

प्रदेश सभाले लामो समयदेखि सभामुख पाउन सकेको छैन। यसले संसदीय गतिविधि ठप्प भएको जनाइएको छ।

प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनले प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन्।

ज्ञापनपत्रमा तीन माग राखिएका छन्। बजेट कटौती नगर्नु, पारित योजना कार्यान्वयन गर्नु र प्रदेश सभा अधिवेशन तुरुन्त आह्वान गर्नु प्रमुख माग हुन्।